काठमाडौं । त्यसो त उपमेयर पद आफैमा ‘सेरेमोनियल’ झैँ लाग्छ । “न काम छ न मान छ” भनेजस्तो यो पदको उपज कताकता महिलाका लागि भनेर छुट्याइएको पुरूषवादी सोचग्रस्त मानसिकतामात्र हो कि जस्तो अनुभूति गर्न सकिन्छ । सम्भावनाको उच्चतामा रहेका कतिपय पात्रहरू यो पदमा पुगेर पनि भुत्ते बनिरहेका देख्दा यो पदको गरिमा नै नरहेको सहजै अनुमान गर्न सकिन्छ ।
काठमाडौँ जिल्लाका ११ उपमेयरमध्ये सम्भावनाको गणितामा अब्बल मानिएकी एक उपमेयर हुन् अनिता तामाङ । व्यक्तित्वदेखि धेरै हिसाबले अनितालाई उच्च सम्भावना भएको नेताको रूपमा लिन सकिन्छ । पढेलेखेकी तथा पार्टीभित्रको राजनीतिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी अनिता बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर हुन् । ०७९ सालमा उपमेयर पदमा उनको नाम निश्चित हुँदा परिचयको अभाव भएकी पात्र हो कि भन्नेहरूलाई चुनावी माहोलमै उनले आफू अब्बल व्यक्तित्व भएको परिचय दिएकी थिइन् । फलतः मेयर उम्मेदवारकोभन्दा बढि मत ल्याएर बिजयी पनि भइन् ।
साहित्यिक रूझान भएकी अनिता तामाङ उपमेयर र उनीसँगै मिठाराम अधिकारी मेयर हुँदा धेरैले आशाको नजर अनितातिर लगाएका थिए । कतिपय बुद्धिजिवीहरूले सार्वजनिकरूपमै अनिताबाट अपेक्षा गरेको अभिव्यक्ति दिएका थिए । मेयरमा मिठाराम अधिकारी विजयी हुनुले पनि मानिसहरू अनिताप्रति आशावादी देखिएका थिए । विशेष गरेर मेयर मिठाराम अधिकारीको ‘हल्लुडेँ’ व्यक्तित्वमाथि उपमेयर अनिता हावी भएर विकास निर्माणदेखि नगरका बिबिध पक्षमा राम्रा र प्रभावकारी कामहरू अगाडि आउने अपेक्षा गरेका थिए ।
उपमेयर भएको २० महिना बित्न लाग्दा मानिसले अपेक्षा गरेको फराकिलो व्यक्तित्व अनिताले कतै पनि देखाउन सकेकी छैनन् । उनी ‘भुत्ते’ उपनाम पाएका मेयरको अगाडि पछाडि लागेर आफै ‘भुत्ते’ भएको प्रतीत भएको एमालेकै नेता कार्यकर्ताले बताउन थालेका छन् । ‘भुत्ते’ मेयरलाई विकास भनेको के हो भनेर सिकाउलिन् भनेर गरेका अपेक्षाहरू २० महिनामा धुजाधुजा भएर च्यातिएका छन् ।
स्नातकोत्तरसम्म अध्ययन गरेकी अनिताले ८ कक्षामात्र पढेका मेयर मिठाराम अधिकारीको किंकर्तव्यविमुढ चरित्रलाई बदल्न सकिनन् वा बदल्ने प्रयास गरिनन् सबैलाई मौन प्रश्न बनेर बसेको छ । मेयरलाई बदल्लिन भनेको पात्र आफै किंकर्तव्यविमूढ भएको अनुमान चारैतिर गर्न थालिएको छ ।
०८४ सालमा ‘महिला मेयर’ भनेर अपेक्षा गर्नेहरूलाई पनि विस्मित बनाउँदै अनिता संकृण दलीय चंगुलमा रूमलिएकी देखिन्छिन् । उनी कतै पनि आफ्नो स्पष्ट अवधारणा राख्दिनन् । समस्या र प्रश्नबाट सकभर उम्किने गर्छिन् । मेयरको छायाजस्तै भएर अघिपछि हिँडिरहँदा मेयरलाई विकासको ट्रयाकमा ल्याउन कुनै पनि पहल गर्दिनन् । आफ्नो सामाजिक सन्जाललाई अर्थपूर्ण संचालन गर्दिनन् । मानौँ जागिर खान आएकी एक कर्मचारीझैँ १०-५ को कर्मकाण्डीय कार्यालय आउने जाने प्रवृत्तिमै उनी खुशी छिन् ।
अनिताले मानिसको चित्त दुखाएको गुनासो पनि आउने गरेको छ । पार्टी पङ्तिभन्दा अलि फरक जो कोहीसँग उनी बोल्न पनि चाहदिनन् । बोल्ने परे पनि मूल्य दिन्नन् । मेयरले कतिपय कुरा बुझ्न नसक्दा उपमेयर बुझ्छिन् भन्नेहरुलाइ अनिताले पटक पटक विस्मित बनाइरहेकी छिन् । पार्टीको ‘प्यादा’मात्र बनेर अनिताले आफूलाई निरन्तर ‘भुत्ते’ बनाइरहेको उनका शुभचिन्तकहरुको दुखेसो पोख्ने थालेका छन् ।
अनिता निरन्तर ‘भुत्ते’ हुँदैजाँदा ०८४ को स्थानीय चुनावमा पनि एमालेले बुढानीलकण्ठमा पढेलेखेको र विकासको खाका भएका व्यक्ति चुनावमा पठाउन नसक्ला कि भन्ने डर एमालेभित्रकै राम्रा मान्छेहरुमा देखिन थालेको छ ।
- आकाश सर्मा