काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईमाथि बजेट दुरूपयोग गरेको सार्वजनिक आरोप लागेको छ । ‘डोजर वडाध्यक्ष’ भनेर परिचित भट्टराइमाथि बजेट दुरूपयोग गरेको आरोपको समाचार प्रकाशित भएपछि हङ्गामा भएको छ ।
नगरपालिकाका जनप्रतिनिधिमध्ये क्षमता भएर पनि क्षमता प्रदर्शन गर्न नपाएका वडाध्यक्ष भनेर चिनिने भट्टराइलाई ०७९ स्थानीय चुनावमा मेयर पदको ‘दावेदार’ मानिए पनि अन्तर्पार्टी राजनीतिक दाउपेचले उनलाई पछाडि पारेको थियो । आगामी ०८४ सालको स्थानीय चुनावमा मेयरको संभावित उम्मेदवार भनेर एकातिर चर्चा छ भने अर्कातिर उनलाई कमजोर बनाउन पार्टी, पत्रकार तथा जनप्रतिनिधिकै एकतप्का मरिहत्ते गरेर लाग्ने गरेका छन् ।
आफूलाई लागेका कुरा फटाफट सामाजिक सन्जालमा राख्न माहिर मानिने वडाध्यक्ष भट्टराई नगर प्रवक्ता भए पनि कमजोर क्षमताका मेयर मिठाराम अधिकारीका कारण आफ्नो क्षमता देखाउन नपाएको पक्ष एकातिर छ भने मेयरलगायत कतिपय पढे नलेखेका वडाध्यक्षहरू भट्टराइसँग जल्ने गरेको तथ्य पनि बेला बेला सार्वजनिक हुने गरेको छ । यद्यपि आफ्ना बिरोधी तथा आफ्ना समस्यालाई मूल्यांकन गर्न नसकेको आरोप पनि भट्टराई माथि छ ।
आरोपका भिन्न भिन्न खाले चाङमा बसेका वडाध्यक्ष भट्टराइमाथि बुढानिलकण्ठ नगरपालिकाको संचार नीति बनाउन छुट्याएको बजेट दुरूपयोग गरेको गम्भीर आरोप लागेको छ । एक समाचारअनुसार नगरपालिकाको सञ्चार नीति बनाउन ५ लाख रुपैयाँ छुट्याइएको मा एउटा बैठकमात्र बसेर त्यो रकम सकेको आरोप उनीमाथि लागेको छ । आरोपका बारे भट्टराइले केहि नबोले पनि संचार नीति नबन्नुमा उनको हात भएको बताइँदै आएको छ ।
नगरपालिकाद्वारा आयोजित एक कथित सार्वजनिक सुनुवाइमा एक अनलाइन संचालकले यो विषयमा वडाध्यक्ष भट्टराइमाथि प्रश्न गरेपछि विषय छताछुल्ल भएको हो । दोस्रोपटक वडाध्यक्ष बनेका भट्टराइमाथि यसअघि कतै दर्ता समेत नगरी आफ्नै भजन किर्तन गाउन बुढानीलकण्ठ-न्युज सञ्चालन गर्न भूमिका खेलेको आरोप छ ।
एकातिर नगरपालिकाले आफ्नो भजन गाउन आफ्नै लगानीमा न्यूज च्यानल खोलेको आरोपकाबीच संचार नीतिकै बजेट दुरूपयोग गरेको अर्को आरोपले भट्टराइमाथि प्रश्नहरू मडारिएका छन् । भट्टराइमाथि बजेट दुरूपयोग आरोपको समाचारपछि उनका प्रशंसकहरूले हङ्गामा गर्न खोजे पनि वडाध्यक्ष आफैले जिम्मेवारीबोध गरेको भने देखिएको छैन ।