काठमाडौं । गएको माघ ११ मा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई कोशीको एक सिटमा ‘घाटा’ लाग्यो। देशभर ‘क्लिनचिट’गर्ने गरी लागे पनि गठबन्धनभित्रको कमजोरीले एक सिट प्रमुख प्रतिपक्षी नेकपा एमालेको खातामा गयो। कोशीमा २ सिटका लागि भएको निर्वाचनमा एक सिट कांग्रेसले जित्दा अर्को सिट एमालेले जित्यो।
जहाँ माओवादीबाट उठेकी महिला कोटाकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भइन्। यता अर्को कोटामा भने कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले जिते। सत्ता गबठन्धनमा रहेका कांग्रेस-माओवादीले उठाएकी कार्कीको हारसँगै माओवादी असन्तुष्ट छ। कांग्रेसभित्रको अन्तरकलहले कार्कीले हारेको माओवादीको बुझाइ छ।
यहाँ विपक्षी एमालेले राप्रपासँग तालमेल गरेको थियो। तालमेलको फाइदा उठाउँदै एमालेले चुनाव जितेको थियो। यसमा कांग्रेसभित्रको अन्तरघातले एमालेले फाइदा उठाएको माओवादी नेता इन्द्रबहादुर आङबोको भनाइ छ। कोशीमा माओवादीको हार यो पहिलोपल्ट भने होइन।
कांग्रेसभित्रको असन्तुष्टीले माओवादीलाई लगातार बेफाइदा भइरहेको छ। राष्ट्रियसभा निर्वाचनपछि माओवादीभित्र गठबन्धन परिवर्तन गर्नुपर्ने सम्मका कुरा उठेका छन्। ‘तल्लोस्तरबाट यो कुरा आएको छ। समीक्षा गर्न बाँकी छ,’ माओवादी सचिव देवेन्द्र पौडेलले भने।
माओवादीभित्र तल्लो स्तरका कार्यकर्ता जति आक्रामक छन् माथिल्लो स्तरका नेता कम आक्रामक भएको देखिन्छ। प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गठबन्धनबाट कांग्रेसलाई मात्र फाइदा भएको बताएका छन्।
‘कोशीमा एमालेले खेल्ने गरेको छ। यसअघि पनि यस्तो भएको थियो,’ एक अन्तर्वार्तामा भनेका प्रचण्डले भनेका छन्,‘तर, अन्य छ प्रदेशमा समस्या छैन। अन्य ठाउँमा पनि समस्या भएको भए सोच्नु पथ्र्यो।’ माओवादीको तल्लो स्तरका नेता/कार्यकर्ता भने गठबन्धनकै विकल्प सोच्नुपर्ने बताउँदै आएका छन्। माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले त कांग्रेससँगको सहकार्य तोड्नुपर्ने बताएका थिए। यद्यपि, पछिल्लो समय उनी मौन छन्।
कोशीको असन्तुष्ट बढेसँगै माओवादीले अब नयाँ तरिकाले गठबन्धनमा सोच्नुपर्ने बताएका हुन्। गठबन्धनको असन्तुष्टी बढेसँगै माओवादीले राष्ट्रियसभा अध्यक्षमा दाबी गर्ने बताउँदै आएको छ। ‘हामीले मात्र सहकार्य गरेर भएन। हाम्रो अस्तित्वका लागि पनि अध्यक्ष लिन्छौँ,’ पार्टी सचिव पौडेल भन्छन्,‘जहिल्यै घात हुँदा कांग्रेसले छलफल गर्छौ भन्न पाउँदैन।’
निर्वाचनअघि सत्ता गठबन्धनले संयुक्तरूपमा कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने छलफल गरेको थियो। कांग्रेस नेताहरूका अनुसार सिटौलालाई अध्यक्ष बनाउनकै लागि उम्मेदवार बनाइएको पनि हो। तर कोशीमा सिटौलाले जिते पनि माओवादीले हारेपछि माओवादी अध्यक्ष दाबी गर्न थालेको छ।