काठमाडौं । आजका दिनमा ‘सिद्धेश्वर महादेव मन्दिर’ कपनको फाँट क्षेत्रको ‘आइकोनिक प्लेस’ हो । ३० वर्ष पहिले तत्कालिन कपन गाविस वडा नं. ३ बेखमा पर्ने यो सार्वजनिक डाँडोबाट धोविखोलादेखि हाँडीगाउँ विशालनगरसम्मको फाँट दृष्यावलोकन गर्न सकिन्थ्यो ।
५० को दशकको सुरूवातसँगै बस्ती विकास हुन थालेपछि यो सार्वजनिक जमिनमा सबैको आँखा पर्न थाल्यो । सार्वजनिक जग्गाको आसपासमा बस्तीहरू बस्न थाले । यसैक्रममा सार्वजनिक जग्गा बचाउनका लागि भन्दा पनि डाँडोमा एउटा मन्दिर बनाउने अभिप्रायले स्थानीय तथा तत्कालिन कपन गाविसको सक्रियतामा बेख डाँडामा सिद्धेश्वर महादेव मन्दिर बन्न पुग्यो ।
टार आकारको बेख डाँडो हाल सिद्धेश्वर मन्दिर भएको ठाउँदेखि हाल ह्याण्डमैदानसम्म(माउण्ट कैलाश स्कूल) दक्षिणबाट उत्तरतिर लम्बिएको छ । यही थुम्काको उत्तरपट्टि पुरानो बेख बस्ती छ । बेख बस्तीले कपनको इतिहास तथा बस्ती विकास यावत् पक्षलाई प्रत्यक्ष अप्रत्यक्ष नजिकबाट नियालेको छ ।
आजभन्दा ३० वर्ष जतिअघि कपन टार वा कपन गुम्बातिरबाट हेर्दा बेखको लामो थुम्कोले धोविखोला, चखुञ्चा तथा यज्ञमती फाँटलाई सुरक्षा गरेर बसिरहेकोजस्तै लाग्थ्यो । बेख डाँडामा हाल पुराना मानिसका केही घर बाँकी रहे पनि अब बेखलाई ’बेख’ भनेर चिन्न वा चिनाइने नै गरिदैन । कपनलगायत बुढानीलकण्ठका कतिपय यस्ता पूराना ’आइकोनिक प्लेस’हरू मासिएका छन् । नयाँ मानिसहरूले आफ्नै अनुकुलका नामहरूले बस्तीको नामकरण गर्न थालेपछि पुराना नामहरू अब इतिहास बन्दैछ । अब केही वर्षमा ’बेख’नाम मानिसका मानसपटलबाट हराउनेछ ।
यही बेख डाँडा जुन हाल बुढानीलकण्ठ वडा नं १० मा पर्दछ । यही डाँडाको दक्षिणी पट्टि जहाँ हाल सिद्धेश्वर मन्दिर छ यहाँ १९ रोपनी ८ आना सार्वजनिक जग्गा थियो । स्रेस्ता अनुसार कपन ३ (च) ११४ नम्बर कित्ता रहेको यो सार्वजनिक जमिनको सिमाना फ्रेन्डसिप युवा क्लबतिरबाट सुरू हुन्छ । यति ठूलो क्षेत्रफल जग्गा अहिले सर्सर्ती हेदा १० रोपनी पनि देखिदैन ।
तत्कालिन कपन गाविस हुँदा देखि नै यो १९ रोपनी ८ आना जग्गामा धेरैले आँखा लगाए । आजका दिनमा सडकबाहेक पनि कतिपय घरहरू यहि सार्बजनिक जमिनभित्र पर्छ भनिन्छ । तर कपन गाविसदेखि बुढानीलकण्ठ नगरपालिका हुँदासम्म यो सार्वजनिक जमिन कति थियो ? र कति छ ? हाल घर कम्पाउण्ड रहेका कुन कुन कित्तामा १९ रोपनी ८ आना जग्गा कति पसेको छ ? भनेर कसैले सोधखोज गरेको छैन ।
कपन गाविस हुँदादेखि नगरपालिकाको वडा हुँदासम्म यस वडामा एमाले पार्टीका जनप्रतिनिधि चुनाव जित्दै आएका छन् । तर सार्वजनिक जग्गा खोज्न तथा संरक्षण गर्न भने उनीहरू सँधै निस्क्रिय रहेका छन् । सिद्धेश्वर मन्दिर रहेको यो डाँडोको सार्वजनिक जमिन कहिलेबाट मिचिन थाल्यो भन्ने एकिन गर्न खोजियो भने तत्कालिन गाविस अध्यक्षहरू आत्माराम पौडेल र मिठाराम अधिकारीका कार्यकाल केलाउन सकिन्छ । मिठाराम अधिकारी हाल पनि बुढानीलकण्ठ नगरपालिकाका मेयर छन् ।
सिद्धेश्वर मन्दिर रहेको यो डाँडो जुन बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा पर्दछ । यो वडामा हाल नवराज भट्टराई वडाध्यक्ष छन् । भट्टराईले दुई कार्यकाल वडाध्यक्ष हुँदा पनि सार्वजनिक जग्गा खोजबिन तथा संरक्षणमा भूमिका निर्वाह गर्न सकेको देखिदैन । सार्वजनिक जमिन खोजबिन तथा संरक्षण विषयका नगरपालिकामा प्रमुख प्रतिपक्ष रहेको कांग्रेसले पनि प्रभावकारी भूमिका खेल्न सकेको देखिदैन । यो विषयमा नेपाली कांग्रेस क्षेत्र नं ४ ख का सभापति रामप्रसाद लुइँटेल कांग्रेसले प्रभावकारी तथा प्रभावशाली भूमिका खेल्न चुकेको स्वीकार्छन् । पछिल्ला समय सार्वजनिक जग्गाको विषय धेरै कुरा उठेको हुँदा अब हरेक वडामा सार्वजनिक जग्गा खोजी तथा संरक्षणका लागि पार्टीको एउटा समिति नै बनाउने तयारी आफूले गरिरहेको उनले बताए ।
यसैबीच फागुन १७ गते यही १९ रोपनी ८ रोपनी जग्गामध्ये एक कुना फ्रेन्डसिप युवा क्लब रहेको ठाउँमा वडा नं १० को वडा कार्यालयको शिलान्यास गरिएको छ । वडा कार्यालय शिलान्यासमा पूर्व गाविस अध्यक्ष तथा हाल मेयर मिठाराम अधिकारी उपस्थित थिए । आधा घटेको सार्वजनिक जमिन देख्दा मेयर अधिकारी कतै पनि द्रविभूत भएनन् ।
शिलान्यास पूर्व यहाँको सार्वजनिक जमिनका बारेमा वडाले फेरि एकपटक कुनै सरोकार देखाएन । तर वडाध्यक्ष भट्टराई हाल रहेको जे जति सार्वजनिक जमिन छ त्यसको संरक्षण भैरहेको बताउँछन् । सार्वजनिक जमिन खोजबिन तथा संरक्षण गर्न नगरपालिकाले चाँडैनै महत्वपूणर् पहल गर्न लागेको पनि उनले बताए । सार्वजनिक जमिन संरक्षणका लागि नगरस्तरीय समिति बन्न लागेको बताउँदै भट्टराईले सार्वजनिक जमिन हराउन हुँदैन भन्ने कुरामा आफू कटिबद्ध भए पनि भनेजस्तो काम भने हुन नसकेको उनले स्वीकारे ।
सिद्धेश्वर डाँडामा सिद्धेश्वर संरक्षण समाज भन्ने एउटा एनजिओ लामो समयदेखि सक्रिय छ । यद्यपि यो संस्थाले १९ रोपनी ८ आना जग्गा संरक्षणतिर ध्यान दिएको देखिदैन । यस समाजले जग्गा मिच्नेहरूलाई संरक्षण गरिरहेको प्रतीत हुन्छ । यस समितिमा सबै राजनीतिक दलका मानिस रहने गरे पनि यसले सार्वजनिक जमिन संरक्षणमा भूमिका खेलेको छैन । जनसामान्य पनि आधा नै घटेको सार्वजनिक जग्गाको अबस्था देखेर चिन्तित हुने गरेको पाइदैन ।