काठमाडौँ । काठमाडौँको गोकर्णेशवर नगरपालिका-६ जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भ्रष्टाचार, बेथिति, अनियमितता र मनोमानी निणर्य भइरहेको निष्कर्षसहित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले अध्ययन प्रतिवेदन बुझाएको छ । खगेन्द्र नवजीवन केन्द्रको अनियमितताबारे अध्ययन गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाएको हो ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा गत माघ ८ गते गठित सात सदस्यीय छानबिन समितिले एक महिना अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । सहायक प्रजिअ एवं समितिका संयोजक ढुङ्गानाले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई बुधबार प्रतिवेदन बुझाएका हुन् हो । प्रजिअ बस्नेतले समितिको प्रतिवेदन बुझेको र अध्ययन गरेर समितिले दिएका सुझावलाई तत्काल कार्यान्वयनमा ल्याउने बताए ।
समितिका संयोजक ढुङ्गानाले अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता, अपारदर्शी आर्थिक व्यवहार भइरहेको निष्कर्षसहित प्रतिवेदन बुझाइएको बताए । उनले सङ्घको व्यापारिक भवनका ७६ वटा सटर भाडामा दिँदा प्रक्रिया पूरा नभएको जानकारी दिए ।
उनले भने, “सङ्घको कार्यसमितिले निणर्य नगरी मनोमानी ढङ्गले सटरको भाडा थपेको, सङ्घमा कर्मचारीको नियुक्ति र बर्खास्तीमा पनि मनोमानी भएको पुष्टि भएको छ । त्यसैगरी बौद्धिक अपाङ्गता भएका व्यक्ति र अन्य जटिल शारीरिक समस्या र अपाङ्गता भएका व्यक्तिलाई एकै ठाउँमा राखिएको देखिएको छ ।