काठमाडौँ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले कांग्रेस सभापति शेरबहादुर देउवाकै कुरा नटेरी नेबिसंघ बैठक सुरू गरेका छन् । नेविसंघको केन्द्रीय समिति बैठकको बुधबार बन्दसत्र कीर्तिपुरमा भएसँगै देउवाको कुरा दुजाङले नमानेको विषय सार्वजनिक भएको हो ।देउवाले नै नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले करिब दुई वर्षअघि डुजाङ शेर्पालाई अध्यक्ष बनाएका थिए । संघको पहिलो बैठकबाट विवाद सुरु भएको छ ।
गत मंगलबार बिहान शेखर समूहका १५० बढी केन्द्रीय सदस्यहरू पार्टी सभापति शेरबहादुर देउवा भेट्न उनकै निवास पुगे । भेटमा देउवाले अध्यक्ष शेर्पालाई फोन गरेर सबैलाई मिलाएर लान देउवाल भनेको शेखर पक्षीय विद्यार्थी नेताको दावी छ ।
त्यसपछि अध्यक्ष शेर्पा र शेखर समूहका विद्यार्थी नेताका बीच पटक-पटक वार्ता भए पनि सहमति हुन सकेन । संघमा देखिएको विवादका कारण पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भनिएको पहिलो बैठकमा सभापति देउवा आफै गएनन् । देउवा गुटका अन्य नेताहरू पनि गएनन् । अन्तिममा गुरु भट्टराईले बैठकको उद्घाटन गरेका थिए ।
२०७८ चैत ३ गते शेर्पालाई तदर्थ समितिको अध्यक्ष जिम्मेवारी तोकिएको थियो । झण्डै १६ महिनापछि संघको केन्द्रीय सदस्यहरू मनोनीत भएका थिए । अहिले केन्द्रीय समितिमा ७१० सदस्य छन् । शेर्पा अध्यक्ष भएको करिब २ वर्षपछि संघको पहिलो बैठक बसेको हो । संघको पहिलो बैठक भने विवादरहित हुन सकेन । जसले गर्दा संघमा आशाभन्दा निराशा र समाधान भन्दा समस्या निम्त्याउने देखियो ।
पहिलो बैठकमा सहभागी सदस्यहरू जुन रूपमा उत्साहित हुनुपर्ने थियो त्यो देखिएन । उत्साहितभन्दा पनि निरुत्साहित हुने बढी देखिएका थिए । यतिखेर उक्त विवाद गुट-उपगुटको रूपमा छताछुल्ल भएको छ । संघको पहिलो बैठक वरिष्ठ नेता डा. शेखर कोइराला समूहले बहिष्कार गरेपछि विवाद सतहमा देखिएको थियो ।