काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका संस्थापनइतर समूहले सभापति दुजाङ शेर्पाको राजीनामा माग मागेको छ ।दुई दिन काठमाडौंमा बसेको बैठकको निणर्य बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । सभापति शेर्पाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गर्दै विभिन्न जिल्लामा मनोमानी ढंगले जिल्ला अध्यक्षको जिम्मेवारी दिने काम गरेको भन्दै राजीनामा माग गरेको हो । उनीहरूले मनोमानी ढंगले व्यक्तिगत स्वार्थमा लिप्त भएर गरिएका सबै निणर्य खारेज गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउने निणर्य गरिएको थियो ।
व्यक्तिगत स्वार्थका कारण देशभरी संगठनलाई धरासयी बनाउँदै लैजाने अवस्था भइरहेकोप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै उनले विधिविधानविपरीत अध्यक्षले गरेको कामलाई सचेत गराउने काममात्रै गरेको केन्न्द्रिय सदस्य प्रेमिका राना मगरले बताइन् । आफ्नो पक्षले बारम्बार छलफलका लागि बोलाउँदा पनि अध्यक्ष नआएको, आफूखुसी ढंगले कार्यक्रम गर्दै हिँडेको संस्थापनइतर समूहको आरोप छ । शेर्पाबाट अब संगठन अघि नबढ्ने उनीहरूको निष्कर्ष छ ।
देशभर विधिवत १२औं महाधिवेशनको तयारीका लागि सदस्यता वितरण, सुझाव संकलन र संगठन विस्तारका लागि केन्द्रीय प्रतिनिधि खटाउनेलगायत ५ वटा निणर्य गरिएको केन्द्रीय सदस्य भुवन भट्टले बताए । पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापननिकट संघका अध्यक्ष दुजाङ शेर्पाले मनोमानी ढंगले संगठन चलाएको भन्दै इतर पक्षका विद्यार्थी नेताहरूले मंगलबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक वहिष्कार गरेका थिए । उनीहरूले मंगलबार सभापति शेरबहादुर देउवालाई उनकै निवास पुगेर ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझेपछि देउवाले नेविसंघ अध्यक्ष शेर्पालाई फोन गरी विवाद मिलाएर मात्रै बैठक गर्न निर्देशन दिएका थिए । तर, पूर्वनिर्धारित तालिकाअनुसार प्रज्ञा भवनमा कमलादीमा अध्यक्ष शेर्पाले बैठकको उद्घाटन गराए ।