काठमाडौं । फागुन १५ गते बुढानीलकण्ठ नगरपालिकाको वार्षिक विकास योजनालाई मिहिन ढंगले हेर्ने हो भने वातावरण तथा खोलानालका क्षेत्रमा कुनै पनि दीर्घकालीन लक्ष्य, सोच तथा योजना भेटिदैन । दीर्घकालीनरूपमा काम गर्नुपर्ने वातावरण शीर्षकमा करिब सवा ३ करोड बजेटको व्यव्स्थापन गरे पनि सो बजेट अत्यन्त खुद्रे कार्यक्रमका लागि छुट्याइएको छ । दुर्गन्धित भैरहेको खोला सफा कसरी गर्ने बारे नगरपालिकाले एउटा पनि सोच आफ्नो ननगरविकास योजनामा राखेको छैन ।
नगर विकास योजनाअन्तर्गत वातावरण तथा सरसफाइ शीर्षकमा नगरापालिकाले वातावरण दिवस, पानी दिवस तथा अन्य गोष्टी तथा सेमिनार गर्ने, सरसफाइमा कार्यरत कर्मचारीको स्वास्थ्य विमा गर्ने, उत्कृष्ट सरसफाइ संस्थालाई पुरस्कार दिने, खोला र सड़क किनारामा रूख लगाउने, धोविखोला एवम् विष्णुमती सरसफाइ गर्ने, डष्टिवन कम्पोष्ट विन खरिद गर्नेजस्ता १९ शीर्षक छन् ।
नगरपालिकाको नगर गौरव आयोजनामा पनि वातावरण तथा सरसफाइको कुनै पनि विषय परेको छैन । खोलामा कसरी फोहर आइरहेको छ ? र त्यो फोहरलाई कसरी न्यूनिकरण गर्ने ? बारे कार्यपालिकामा एकपटक पनि कुरा नउठेको एक वडाध्यक्षले काठमाडौँ खबरलाई भने । नगरपालिकामा विष्णुमती, धोबिखोलासहित २ दर्जन खोला भए पनि बस्ती विकाससँगै सबै खोला खोल्साहरू दुर्गन्धित भैरहेको छन् । धोविखोला, विष्णुमती, महादेव खोला, च्यानेखोलालगायत खोला आसपासमा बस्न नसक्ने गरी गन्हाउने गरेको छ । बस्तीका घरबाट निस्कने ट्वाइलेटको फोहर सिधै खोलामा आइपुग्ने गरेको छ । नगरपालिकाले निजी घरका सेफ्टिक ट्यांककोअनुगमन निरीक्षण गर्न सकेको छैन ।