काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित भएका छन्।सोमवार संसद बैठकपछि उनले यस प्रकरणमा जिज्ञासा राख्दा तपाईं कहाँको पत्रकार हो नि प्रतिप्रश्न समेत गरे।
पत्रकारहरुले यस प्रकरणमा मुछिएका तपाईँले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि भनी जिज्ञासा राखेका थिए । मन्त्री बस्नेत भने केको नैतिकता भन्दै पत्रकारमाथि आक्रोशित भए । कसैले रिस उठेर उजुरी गर्यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ? मन्त्री बस्नेतको आक्रोश थियो । उनले एमालेले संसदमा आफ्नो राजीनामा माग गरेर ‘पुंग न पुच्छर’को कुरा गरेको टिप्पणी गरे ।
मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको पनि बताए। उनले सो प्रकरणमा आफूले गल्ती नगरेको जिकिर गर्दै आफूमाथि उजुरी दिनेको नाम पनि समय आएपछि सार्वजनिक गर्ने बताए।
मन्त्री बस्नेतले भने, ‘हामीले हेर्दाखेरी पुंग न पुच्छरका कुरा लिएर हिँडेका छन् । उजुर गर्न आफैं हिँड्छन् । अनि, त्यहाँ बोल्न आफैँ हिँड्छन् । अनि आफूले भनेको सबै ठिक हो भन्छन् । होइन भने बेठिक हो भन्छन् । देखिरहनुभएको छ नि तपाईहरुले । सामान्य नैतिकता देखाएनन भन्ने कुरा छ मन्त्रीहरुले । के हो नैतिकता ? सुन्नुस्, यो देशमा कानून छ । ऐन छ ।
कसैले कसैलाई उजुरी गर्यो भन्दैमा रिस उठेर उजुरी गर्यो भन्दैमा प्रमाणित केही पनि नभईकन के हुन्छ नैतिकता तपाईले सिकाउनु पर्छ ? तपाईलाई यति पनि थाहा रहनेछ । तपाई कहाँको पत्रकार ? कान्तिपुरले के लेखिराखेको छ ? कान्तिपुरले खाली टेरामक्सको वकालत गरिराखेको छ । म प्रतिप्रश्न सोध्न चाहन्छु-संसारभरी टेरामक्स लागू भएको छ । कलवाईपास गरेर गर्ने घोटालाको बारेमा सारा देशमा नियन्त्रण भएको छ । यो देशमा मात्रै किन नियन्त्रण भएको छैन ?’