काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा प्रथम संस्कृति तथा साहित्य महोत्सव चलिरहेको छ । फागुन ११ मा सुरू भएर १२ गते समापन हुने भनिएको महोत्सवको पहिलो दिनको कार्यक्रम सकिएको छ । काठमाडौँका कुनाकुनाका नाम चलेका नचलेका कवि साहित्यकार तथा अन्य व्यक्ति सहभागि बन्न चुनिखेल आइरहँदा स्थानीय कवि, साहित्यकार, बुद्धिजिवी भने महोत्सवमा देखिएनन् । स्थानीय कवि, साहित्यकार तथा बुद्धिजिवी महोत्सवस्थलमा पुग्न नै गारो भएको देखियो । निम्तोसम्म नगरिएको कार्यक्रममा कसरी जाने ? खासमा महोत्सवको आयोजकमा रहेको केही थान साहित्यकार तथा सहभागि हुन बोलाइएका साहित्यकारबाहेक अरू साहित्यानुरागिसमेत देखिएनन् ।
आफ्नो नगरपालिकामा गरिएको कार्यक्रममा के नजानु भनेर रमिता हेरुँ न भनेर पुगेका एकाधले पनि कार्यक्रम स्थलमा आफ्नो उपस्थितिको महत्व भेट्न सकेनन् । चिन्दै नचिनिएका कतिपय आवाजहरू महोत्सवमा गुन्जिरहँदा स्कुले नानीहरूको पछाडि आफू उभिँनु पर्दा उनीहरूले सहजता महशुस गरेका थिएनन् ।
आयोजकले जानि नजानी सहभागि गराइएका एक दुइ स्थानीयवासी कवि साहित्यकारको अनुहारमा पनि उच्च तेज देखिएको थिएन । बुढानीलकण्ठमा भएको साहित्य महोत्सवमा कविहरू आरएम डङ्गोल, मित्रलाल पँज्ञानीजस्ता नाम मात्र कविता वाचकका रूपमा उपस्थित थिए । आयोजकको कार्यक्रम तालिकाले उनीहरूलाइ कविता बाचन गर्ने र रफुचक्कर हुनेबाहेक कुनै विकल्प छाडेको देखिएन ।
चुनिखेलमा राखिएको चुनिख्यः कार्यक्रममा चुनिखेलको सांस्कृतिक पक्ष जोगाउन वा बचाउन गर्ने पर्ने उपायका बारेमा छलफल गराउने स्थानीय सहजकर्ता आयोजकले नखोज्दा चुनिख्यः कार्यक्रमले कुनै गतिलो म्यासेज दिन सकेन ।
बुढानीलकण्ठमा बसेर लामो समयदेखि साहित्यिक पत्रिक तथा अन्य बिबिध नाममा पूणर्कालीन साहित्य जीवन बिताइरहेका निबन्ध आचार्यले सहन नसकेर शनिवार बिहानै सामाजिक सन्जालमा लेखे, आयोजक र भुमिकामा नाम भएका बाहेक अन्य साहित्यकार उपस्थित नभएको साहित्यिक महोत्सव त बेसार नहालेको तरकारी जस्तो देखिदो रहेछ ।