काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्ने र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन् । महासमिति बैठकको बिहीबार आयोजित समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरूलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका हुन् ।
‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ,’ उनले भने, ‘काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ । भन्नुपर्छ । त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ ।’ महामन्त्री थापाले दागी मन्त्री भनेको सम्भवतः स्वास्थ्य मन्त्री हुनुपर्ने महासमिति हलमा बसेका सबैले आंकलन गरेका थिए ।
विपक्षी पार्टीले समेत निशाना बनाइरहेको स्वास्थ्यमन्त्री यस्ता नेपालको इतिहासमै यस्ता मन्त्री हुन् जो करोडौँको भ्रष्टाचारमा अख्तियार धाइरहेका छन् । उनको यो भ्रष्टाचार संचारमन्त्री हुँदाको हो । हाल स्वास्थ्य मन्त्री हुँदा पनि मोहन बस्नेतका दर्जनौँ भ्रष्टाचारवाला काण्ड समाचार बनिरहेका छन् ।
त्यसैगरी महामन्त्री थापाले भनेको काम नगर्ने मन्त्रीहरूमा सम्भवतः अर्थमन्त्री महतलगायत केही मन्त्री हुनसक्ने अनुमान गरिएको थियो । सभापति देउवाको विश्वासपात्र भएकाले जनताबाट एकपटक पनि अनुमोदित नभैकन पटकपटक लाभको पद पाउने गरेको महतको अर्थमन्त्रीकाल कमजोर मानिएको छ । महत चौतर्फि आलोचनाको पात्र भैरहेका छन् ।