काठमाडौं । वर्षेनी वर्षामा बाढ़ी आउने कपनको चखुन्चा र यज्ञमती खोलामा बक्स कल्भर्ट बनाउने काम तीव्रताका साथ चलिरहेको छ । वर्षा अघि नै बक्स कल्भर्ट बनाएर डुबानको जोखिम न्युनिकरणका लागि प्रयत्न जारी भएको देखिन्छ । यज्ञमती खोलाको नेपाली टेलिकम खण्डदेखि साततले धोवीखोलासम्म जताततै बक्स कल्भर्टको काम भैरहेको देख्न सकिन्छ ।
हालसम्मको योजनामा बक्स कल्भर्टमा मानिसका घरबाट निस्किने मलमुत्रको फोहर हालिने छैन । यसका लागि कल्भर्ट बाहिर दुवैपट्टि साइटमा ढल हालिनेछ । यो कार्य भने बक्स कल्भर्ट बनिसकेपछि सुरू हुने काठमाडौँ महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल होडाले बताए । कल्भर्टसँगसँगै केही ठाउँमा आवतजावतका लागि ब्रिज बनाउने काम पनि सुरू हुन लागेको वडाध्यक्ष होडाले बताए । खोलाले आकाश पनि देख्छ अनि खोलामा फोहर पनि नदेखिने हिसाबले चखुन्चाको समस्या समाधान हुने होडाको दावी छ ।
गत वर्षामा चखुन्चा खोला खोलिएपछि कपन तथा छिमेकी सरस्वतीनगर आसपासका बासिन्दा ढलको गन्ध तथा सडकको समस्याले सास्ती भोगिरहेका छन् । सडकमा जथाभावी निर्माण सामाग्री राख्दा वरिपरिको वातावरण कुरुप बनिरहेको छ ।