काठमाडौं खबर फाल्गुन १०, २०८०
काठमाडौं । पशुपतिनाथ पसिरसमा विश्वशान्ति महायज्ञ आयोजना गर्न लागिएको छ । महारुद्र परिवारले पितृ उद्दार, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकताको निम्ति महायज्ञ गर्न लागेको जनाएको छ ।
परिवारले शिवरात्रीको अवसर पारेर हिन्दु, बौद्ध र किराँत विधिअनुसार यही फागुन १९ गतेदेखि २६ गतेसम्म एक साता महायज्ञ गरिने जनाएको छ । महायज्ञमा अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमङ पाठ, श्रीमद् भागवत महापुराण, मूलपाठ पारायण, प्रवचन, रामलीला, दैनिक हवन, प्रज्ञा पारमिता पाठ, भजन कीर्तन, धामीझाँक्री, मोन्लम, ताण्डव नृत्य, लक्षवर्तीका प्रज्वलनलगायत हुने छ ।
हिन्दु, बौद्ध र किरात एकताको सन्देश दिन महायज्ञ आयोजना गर्न लागिएको हो । कार्यक्रममा तीन वटै धर्मका गुरुहरुको बाक्लो उपस्थिति हुने बताइएको छ ।