काठमाडौँ । सत्ता र शक्तिले सँधै मोटा मोटा पदमा पुगेर पनि बुढानीलकण्ठमा सार्वजनिक जमिन अतिक्रमण गरेर बसेका ल्हारकेल लामालाई हडपेको सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउन बुढानीलकण्ठ नगरपालिकाले प्रक्रिया अघि बढाएको छ । काठमाडौँ खबरले विगत ४ वर्षदेखि उठाउँदै आएको विषयमा नगरपालिकाले लामालाई आफ्नो जग्गा के कति हो ? भनेर विवरण उपलब्ध गराउ पत्र काटेको हो ।
नगरपालिकाले आइतबार लामालाई पत्र काटेर हडपिएको भनिएको सार्वजनिक जग्गाबारे यथार्थ विवरण पेस गर्न भनेर एउटा पत्र काटेको हो । बुढानीलकण्ठ नगरपालिकाका पठाएको पत्रमा उल्लेख छ, “तपाईंको स्वामित्वमा रहेको साबिक चपली-८ ‘क’ र हालको बुढानीलकण्ठ नगरपालिका-२ कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराइदिन।” पत्रमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को सिट नम्बर १०२०९०७-१० अन्तर्गतको कित्ता नम्बर २६ को जग्गासँगैको सार्वजनिक जग्गाबारे यकिन विवरण उपलब्ध गराउन भनिएको छ।
लामालाई पत्र काटेपछि हडपिएको सार्वजनिक जग्गा फिर्ता ल्याउने पहल सुरू भएको छ । पहिलो चरणमा पत्रमात्र काटिएको नगरपालिकाले बताएको छ । नगरपालिकाले यथाशक्य विवरण उपलब्ध गराउन भनिएको उल्लेख गर्दै मागेको विवरण उपलब्ध नगराए कानूनी प्रक्रियामा अघि बढ्ने बढ्न सक्छ ।
काठमाडौँ खबरले स्थानीय तहलाइ वर्षौँदेखि सार्वजनिक जग्गा संरक्षण गर्न पर्ने भनेर आवाज उठाउँदै आएको छ । नेपालको संबिधानले नै सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार स्थानीइ तहलाइ दिएको छ। यो अधिकारअनुसार स्थानीय तहले सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक निणर्य गर्न सक्छ। जसमा व्यक्तिले हडपेका सार्वजनिक जग्गा फिर्ता ल्याउने जिम्मेवारी स्वतः समेटिन्छन्।
बुढानीलकण्ठमा साविक गाविस हुँदादेखि नै जनप्रतिनिधिदेखि सक्नेहरूले सार्वजनिक जमिन मिचेर घरघडेरी र कम्पाउण्ड प्रयोग गरेका छन् । बुढानीलकण्ठका मेयर मिठाराम अधिकारीको घर नै सार्वजनिक जमिनमा परेको भनेर जनप्रतिनिधिले आवाज उठाउँदा पनि मेयर अधिकारी कानमा तेल हालेर एउटा विज्ञप्ति निकालेर बसेका छन् ।