भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रममा एमाले विदेश विभाग प्रमुख रहेका राजन भट्टराईले नेपाली राजनीतिक अन्दोलनको जग नै भारतीय प्रभाव भन्न पुगेका छन् । राजधानीमा भएकॊ सॊ कार्यक्रममा बॊल्दै उनले आधुनिक नेपाली राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताउँदै भारतकै प्रभावमा नेपालमा राजनीतिक परिवर्तन भएको बताए ।
‘नेपाल-भारत सम्बन्धः सम्भावना र चूनौति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको आन्दोलनको प्रभावस्वरुप राजनीतिक चेतनाको विकास भएर राणा शासनबाट नेपाललाई मुक्त गराउनुपर्छ भन्ने चेतनाले तत्कालीन नेपाली नेताहरु लागिपरेका उनले बताए । उनले नेपाललाई राणा शासनबाट मुक्त गराउनमा भारतीय स्वतन्त्रता आन्दोलनको ठूलो योगदान र प्रभाव रहेको बताए ।
उनले नेपाल-भारतबीच भौगोलिक, संस्कृति र सभ्यताको हिसाबले सामिप्यता रहेको बताउँदै ऐतिहासिक, राजनीतिक, आर्थिक सम्बन्ध, खुल्ला सीमाबाट लगायतका हिसाबले दुई देशबीच सम्बन्ध अत्यन्त घनिष्ठ र भावनात्मक सम्बन्ध पनि राम्रो रहँदै आएको समेत बताए ।
नेता भट्टराईले भारतको ७५औं गणतन्त्र दिवसको अवसरमा भारतीय जनता र भारत सरकारलाई आफू र आफ्नो पार्टी एमालेको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे ।
अहिले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतले ओगटेको बताउँदै उनले लगानी र नेपालको ठूला-ठूला पूर्वाधार विकासमा भारतको सहयोग रहेको स्मरण गराए । नेपालका दुई छिमेकी मुलुकहरु अहिले तीब्रतर समृद्धिको बाटोमा रहेका बताउँदै उनले दुई छिमेकी मुलुकहरुबाट नेपालले पनि सिक्न आवश्यक रहेको बताए ।