हिजोबाट नेपाली कांग्रेसको ’समुदायमा कांग्रेस अभियान’ प्रारम्भ भएको छ ! कार्यक्रम सुरू भएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पहिलो दिन मेची पुलबाट कञ्चनश्री, झापा बजार, कञ्जीवारी, खजुरगाछी हुँदै अहिले मोरङ पुगेका छन् ।
थापा आफ्नो सामाजिक सन्जालमा लेख्छन्, हामीले अभियानको क्रममा यात्रा गर्ने घोषणा पछि सबैजनाले ’कम सुनाउने बढी सुन्ने गर्नुपर्छ है!’ भनेर सुझाव दिनुभएको छ। हाम्रो अभियानको मुख्य उद्देश्य नै त्यहीँ हो, संवाद सँगै यात्रा।
पूर्वी नेपालको मौसम चिसो छ । गगन थापा पहिलो दिनको यात्रबारे लेख्छन्, आज जाडो थियो, तर हामी सँग संवाद गर्न, भेटघाट गर्न धेरै जना हामी सँग जोडिनुभयो। आज हामीले कृषकका, युवाका, स्थानीय आम समुदायका माझ गएर कुरा गर्यौ। सबै जनाका सुझाव, सल्लाह, गुनासा, माया, शुभेच्छा लिएर आजको झापाको यात्रालाई बिट मारेका छौँ।
दोस्रो दिन थापासहितको टोली मोरङमा व्यस्त रहनेछ । थापाले लेखेका छन्, हाम्रो यात्रा भोलि पनि निरन्तर रहनेछ, कुरा सुन्ने, संवाद गर्ने, यात्रा गर्ने क्रम भोलि पनि चल्नेछ। अब भोलि ’संवाद गर्न’ हाम्रो भेट मोरङमा!
नेपाली कांग्रेसले १३ गतेदेखि २६ गतेसम्म समुदायमा कांग्रेस अभियान संचालन गरेका छन् । महामन्त्री थापा मेचीदेखि कन्चपुरसम्म १३ दिने यात्रा गर्दैछन् । पहिलो दिन यात्राको सुरू गर्दा उनका सहकर्मी द्वय अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रिय सदस्य प्रदीप पोडेल साथमा थिए ।