काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मेची पुलबाट संवाद यात्रा शुरू गरेका छन् । भद्रपुरमा रहेको मेची पुल नजिकै आयोजना गरेको यात्रा शुभारम्भ कार्यक्रममा महामन्त्री थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेत सहभागि थिए । कार्यक्रममा हालै राष्ट्रिय सभामा पुगेका वयोवृद्ध नेता कृष्ण सिटौला पनि सहभागि थिए ।
शुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकमा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्न संवाद यात्राको शुरू गरेको बताए । नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा शुरु गरेको भन्दै थापाले यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको बताए । कांग्रेसप्रति नागरिकको गुनासो सुन्न र समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको उनले बताए।
कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले नागरिकको दुःख र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमिकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताए । यात्राका क्रममा औपचारिक सभा नगरि भेटघाट गर्ने कार्यक्रम छ । कांग्रेस केन्द्रीय समितिले आजैदेखि ‘समुदायमा कांग्रेस’ अभियान पनि शुरु गरेको छ ।
महामन्त्री थापाले आजै झापा चोकमा चिया संवाद, कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन, कृषक समूहसँग संवाद गर्ने, झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ । संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ ।संवाद यात्रा माघ २६ गतेसम्म चल्ने थापाले जानकारी दिए ।