भक्तपुरको खोह्रे (हनुमानघाट) मा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने व्रत नै स्वस्थानी व्रत कथा हो । हुन त यो व्रत साँखुस्थित शाली नदीमा पनि चल्ने गर्छ । तर यहाँको व्रत साँखुको भन्दा पुरानो रहेको मानिन्छ र यसको छुट्टै महत्व रहेको छ । तौमढीस्थित तील माधव नारायणलाई तौमढीबाट खोह्रे ल्याएर एक महिनासम्म पूजा गरी ब्रतालुहरूले दिनको एक छाक मात्र भोजन गरी व्रत बस्ने गर्छ ।
यो महिना भर घर-घरबाट माधव नारायणको दर्शन गर्नको लागि “मार हवानेगु” भने प्रचलन पनि रहेको छ । जसमा टोलका एक अगुवाले एक गीत गाएर सबैलाई जगाई खोह्रे लाग्ने गर्छ । त्यस्तै यस अवधिभर बिहान सबेरैदेखि व्रतस्थलको अगाडि रहेको त्रिवेणीमा जलसं (जल आसन) बस्ने गर्छ । जलसं बस्दा पानीभित्र सम्पूर्ण शरीर डुबाई केवल टाउको मात्र निकालेर ब्राम्हण पुरोहितद्वारा मन्त्र स्तुति गरुन्जेल शंख फुक्ने गर्छ भने व्रतालुहरू नमस्कार गरिरहन्छन् । जब मन्त्र स्तुति सकिन्छ सबैले सोही स्थानमा स्नान गरी दिनको प्रारम्भ गर्छ ।
यसरी जलसं बस्न अगाडि कोही “सिनमं तुलेगु” गरी आउने गर्छ भने कोही “दुंदायगु” गरी आउने गर्छ । सिनमं तुलेगु भन्नाले कुनै निश्चित स्थानबाट गुल्टेर यस त्रिवेणी घाटमा आइपुग्नु हो भने दुंदायगु भन्नाले आफ्नो शरीरले बाटो नाप्नुलाई भनिन्छ । समय समयमा व्रतालुहरूलाई पनौती, पशुपति, चाँगुनारायण, शेष नारायण तथा अन्य धार्मिक स्थलमा लग्ने गर्छन् । यसरी लग्ने बेला जुत्ता लगाउन निषेध गरेको हुन्छ भने जलसं बस्ने पुरुषहरूले टाउकोमा १०८ धाराबाट जल प्रवाह गरिरहेका हुन्छन् ।