भक्तपुरको नःपुखु कुनै बेला फोहोरले भरिएको हुन्थ्यो । पानी र रक्सीका बोतल, प्लाष्टिकलगायत फोहोरका सामग्रीले ढाकिएको हुन्थ्यो । पोखरीमा पानी भन्दा धेरै फोहोरहरू हुन्थे । नःपुखु वरिपरी पनि त्यस्तै फोहोर थिए । त्यसैले स्थानीयले यो पोखरीलाई ’गुह्या’ पोखरी पनि भन्थे । परापूर्व कालमा खेतमा काम गरेपछि हात खुट्टा धुन यो पोखरीको पानी प्रयोग गरिन्थ्यो । म्ये गाः (राँगा पाल्ने ठाउँ) र पशुहरूलाई नुहाइदिनको लागि पनि यो पोखरीको प्रयोग हुन्थ्यो ।
यो पोखरीको अर्को विशेषता पनि रहेको स्थानीय बुढापाका बताउँछन् । यहाँको पानी प्रयोग गर्दा शरीरमा आएको घाउ, डन्डीफोर, आँखा पाकेको जस्ता रोग निको हुने । तर समयसँगै पोखरीमा बढेको फोहोरले मानिसहरू यहाँको पानी प्रयोग गर्दैनथे ।पोखरी नै पोखरीले भरिएको भक्तपुरमा नःपुखुको खाशै अस्तित्व थिएन । न यसको मर्मत तथा स्याहारसुसारमा कसैको ध्यान नै थियो ।
भनिन्छ नि समय सँगै सबै कुराहरू परिवर्तन हुन्छ । अन्ततः नःपुखु पनि परिवर्तन भयो । अहिले नःपुखुको मुहार र पानी दुवै फेरिएका छन् । गुह्या पोखरी अहिले सफा भएको छ । सफा पोखरीमाथि साइकल पौडन्छन् । साइकलमा बसेर मानिसहरू दौडन्छन् । हो अहिले नःपुखु वाटर साइकलको ’हव’ भएको छ । पानीमाथि साइकल कुदाउने नयाँ प्रविधिको एड्भेन्चर्सले यहाँको रौनक फेरिएको छ । पर्यटन व्यवसायमा नयाँ ढोका खुलेको छ ।
‘पानीमाथि साइक्लिङ’ यो आफैंमा अनौठो छ । झट्ट सुन्दा त जो कोहीलाई अचम्म नै लाग्छ । नयाँ आविष्कारहरूबारे थाहा हुँदा सधैं चीनमा यस्तो भयो भन्ने मात्रै सुनेका हामीलाई नेपालमै पानी माथि साइकल कुद्छ भन्ने सुन्दा जो कोही दंग पर्छन ।
दक्षिणतर्फ ललितपुर र पूर्वतर्फ काभ्रेपलाञ्चोकको मध्य भागमा रहेको भक्तपुरलाई नेवारी भाषामा ’ख्वप’ नामले चिनिन्छ । सबैभन्दा सानो जिल्लाको रुपमा चिनिने यो जिल्ला ६.८८ वर्ग किमीको मात्रै छ । सानो छ तर, सांस्कृतिक, धार्मिक र पर्यटकीय ठाउँहरू प्रशस्तै छन् । सन् १९७९ मा विश्व सम्पदा सूचीमा युनेस्कोले भक्तपुर दरबारलाई सूचीकृत गरेको थियो । दरबार क्षेत्रको मुख्य प्रवेश गेटको बायाँ तर्फ पर्छ नःपुखु । भक्तपुर दरबार घुम्न जाने जो कोहीले यहाँ गएर वाटर साइक्लिङको मज्जा लिइरहेका हुन्छन् ।
डुंगा र साइकल मिलाएर बनाइएको वाटर साइकल पानी माथि तैरिन्छ । अहिले नःपुखुमा टिएन एड्भेन्चर्स प्रालिले २०८० भदौ ९ गतेदेखि ‘वाटर साइक्लिङ’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार यो नेपालमै पहिलोपटक भित्रिएको हो । भक्तपुर नगरपालिकासँगको सहकार्य र सम्झौतामा परीक्षणको रुपमा वाटर साइक्लिङ सुरु गरिएको सञ्चालकको भनाइ छ । टिएन एड्भेन्चर्स प्रालिले भक्तपुर बाहेक सर्लाहीको भरत तालमा पनि ‘वाटर साइक्लिङ’ सुरू गरेको छ ।