काठमाडौं । शिवपुरीको फेदैमा रहेर पनि बुढानीलकण्ठ, टोखा र तारकेश्वरलगायतका नगरपालिकाका कतिपय स्थान खानेपानीको चरम हाहाकारमा रहेको छ । यहि समस्या समाधानका लागि काठमाडौँ क्षेत्र नं ४ र ५ का सांसदहरू गगन थापा र प्रदीप पौडेलले सम्बन्धित मन्त्रालय एवम् अन्य पक्षसँग गम्भीर छलफल गरेका छन् ।
शिवपुरी जंगलबाट बग्ने खोला, खोल्सी तथा जरूवा मुहानका पानीलाई व्यवस्थित गरेर यस भेकलाइ खानेपानीको दीर्घकालीन व्यवस्था गर्ने तयारीस्वरूप खानेपानी मन्त्री महेन्द्र यादवसहित वन मन्त्री विरेन्द्र महतोसहितसँग छलफल गरेका हुन् । केयुकेएल, वनमन्त्रालय सचिव, खानेपानी मन्त्रालयका सचिवसहितको छफललपश्चात उपत्यका खानेपानीले यसअघि भएका यावत् कामका डकुमेन्ट्स हेर्दै १ देखि २ महिनाभित्र डिपिआरको चरणमा पुग्ने निणर्य भएको सांसद गगन थापा सचिवालयले जनाएको छ ।
यसअघि सांसद गगन थापाले बुढानीलकण्ठको कपनमा आयोजित कार्यक्रममा अर्थमन्त्रालयले यो विषयमा चासो देखाएकोले बुढानीलकण्ठले खानेपानीको दीर्घकालीन बाटो पाउने आधार तय गर्न सक्ने बताएका थिए । बुढानीलकण्ठको कपनमा खानेपानी उत्पादन तथा वितरणमा सक्रिय कपन जोराधारा खानेपानी संरक्षण संस्थाको अधिवेशनलाइ सम्बोधन गर्दै सांसद थापाले चाँडै नै खानेपानीको दीर्घकालीन समाधानका लागि विशेष काम गर्न लागेको बताएका थिए ।
बुढानीलकण्ठ, टोखा र तारेकेश्वर भेकमा दीर्घकालीनरूपमा खानेपानीको समस्या समाधान गर्न सक्ने आधार तय गर्न सांसदहरू गगन थापा तथा प्रदीप पौडेलबीच पटक पटक छलफल हुनुको साथै सम्बन्धित अरू तहतप्कासँग बसेर काम तथा कुरा भैरहेको पनि सचिवालयले जनाएको छ ।