पुराना हुलाक टिकट र सिक्का सङ्कलनमा सोखिन दिनेश आचार्यलाई पछिल्लो समय सम्पर्क गर्ने भारतीय सङ्कलकहरूको सङ्ख्या ह्वात्तै बढेको छ। उनका अनुसार नेपालले विक्रम सम्वत् २०२४ सालमा राम नवमीको अवसरमा जारी गरेको सीता-रामको तस्बिर अंकित हुलाक टिकट खरिद गर्ने इच्छा त्यस्ता व्यक्तिहरूले राख्ने गरेका छन्।
सो हुलाक टिकटमा विक्रम सम्वतको साल उल्लेख भएपनि अहिले इस्वी सन् २०२४ मा अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा समारोह आयोजना हुन लागेको भन्दै त्यसलाई एउटा अच्चम्मको संयोगका रूपमा कैयौँ भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उल्लेख गरिरहेका छन्।
नेपाली हुलाक टिकटको चर्चा भारतमा पनि भइरहेकोमा कतिपय नेपाली हुलाक टिकट सङ्कलकहरू खुसी छन्। तर तथ्यलाई बढाइचढाइ प्रस्तुत गर्न नहुने उनीहरू बताउँछन्। विक्रम सम्वत् २०२४ को राम नवमीको अवसरमा नेपालले सीता र रामको तस्बिर भएको उक्त हुलाक टिकट जारी गरेको थियो। त्यसमा प्रकाशनको पहिलो दिवसको टाँचा सन् १९६७ एप्रिल १८ मा लगाइएको सो टिकटको प्रथम आवरणमा उल्लेख भएको छ।
आचार्यले उक्त टिकट र त्यसमा प्रथम टाँचा लगाइएको आवरण नेपाल फिलाटेलिक सोसाइटीको फेसबुक पेजको एउटा पोस्टमा पनि राखेका छन्। बीबीसीसँग उनले भने, “५७ वर्षअघि उक्त टिकट जारी भएको हो र इस्वी सम्वत्को वर्ष २०२४ एउटा संयोगको रूपमा परेको छ। त्यसलाई लिएर भारतमा बढाइचढाइ गरिएको जस्तो लाग्छ।”
उनले उक्त हुलाक टिकटबारेका खबर र सामाजिक सञ्जालका पोष्टहरूका कारण कैयौँले आफूलाई सम्पर्क गरेको पनि बताए। उनी भन्छन्, “मलाई नै यो टिकट चाहियो भनेर २५-३० जनाले सम्पर्क गरेका छन्। पहिलो टाँचा लगाइएकै चाहियो भन्नेहरू पनि छन्। पहिले त्यो टिकट करिब १५ देखि २० रुपियाँ पर्ने टिकट हो तर अहिले (भारतबाट) उहाँहरूले म १०० रुपियाँ भारु दिन्छु मलाई देऊ भनिरहनुभएको छ। १०० वटा-५० वटा पठाइदेउ भन्ने धेरै छन्।”
शुक्रवार अपराह्न एमजन इन्डियाको वेबसाइटमा उक्त टिकटको मूल्य ४० प्रतिशत छुटपछी भारु २९९ रुपियाँ अर्थात् ४७८.४ नेपाली रुपियाँ राखिएको थियो। नेपाल फिलाटेलिक सोसाइटीका निवर्तमान अध्यक्ष शङ्कर श्रेष्ठ अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा भइरहँदा नेपालले विगतमा प्रकाशन गरेको राम सीताको हुलाक टिकटको चर्चा हुनुलाई सकारात्मक मान्छन्। उनले भने, “राम र सीताको त्यस्तो खालको टिकट नेपालमा मात्रै छापिएको छ। त्यही भएर भारतमा यो टिकटको चर्चा हुनु फिलाटेलिक दृष्टीकोणले सकारात्मक हो। उनीहरूले उक्त हुलाक टिकटको प्रयोग गरेर राम र सीताको सम्झना गर्न खोजेको होला।”
कतिपय भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले हुलाक टिकटमा अङ्कित साल २०२४ लाई देखाउँदै नेपालले राम मन्दिरमा प्राण प्रतिष्ठा भर्ने समयको ’भविष्यवाणी गरेको’ भन्दै चर्चा गरिरहेका छन्। उक्त हुलाक टिकटबारे कतिपय भारतीय अनलाइनहरूमा खबरहरू पनि प्रकाशित भएका छन्। सो हुलाक टिकटको प्रथम टाँचा विवरणमा उल्लेख भए अनुसार टिकटमा रहेको राम र सीताको तस्बिरले करुणा, प्रेम, भक्ति, बलिदान र समर्पण जस्ता भावनालाई प्रतिविम्बित गर्छ।
“मूर्तिमान् अभिव्यक्तिको रूपमा सीता-राम हिन्दुहरूको निमित्त मात्र होइन्, समग्र मानवजातिका लागि पूजनीय एवं अर्चनीय हुनुहुन्छ,” प्रथम टाँचा लगाउँदा प्रकाशित विवरणमा उल्लेख छ। सुरुमा पाँच लाख प्रति छापिएको उक्त हुलाक टिकटको डिजाइन एस डी अशान्तले गरेका थिए।