- बिक्सन महर्जन
काठमाडौं । कला, संस्कृति, सभ्यता, जात्रापर्वको धनी नेवा: समुदायको जन्मदिन मनाउने अलगै तरिका छ । नेवा: समुदायले तिथिअनुसार जन्मदिन मनाउने गर्छ । जन्मदिन कहिले परेको छ भनी थाहा पाऊन आफ्नो जन्म तिथिको आसपास अगाडि सो व्यक्तिको जात: (जन्म कुण्डली) देखाउन जाने गरिन्छ । जन्मदिन परेको दिन नेवा: समुदायको घरबाट धौ बजि (दहि चिऊरा) दिने चलन रहेको छ । यो कार्य बिहानै गरिन्छ । यदि कसैको घरभित्रको सदस्यको जन्मदिन परेको छ भने जन्मदिन परेको व्यक्ति स्वयम् मन्दिरमा गएर वा सो व्यक्तिको नाममा चामल ढोगाएर मन्दिरमा पूजा गइन्छ ।
त्यसपछि टोलका मान्छेलाई बोलाएर दहि चिउरा बाँड्ने गरिन्छ, दही चिउरासँगै भिजेको केराऊलगायत अन्य फलफूलसँगै द्रव्य दिइन्छ । त्यसपछि जन्मदिन परेको सदस्यलाई सुकुन्दा बालेर पूजा गरी सगुन दिने गरिन्छ । हिजोआज भने सहरी क्षेत्रमा दही चिउरा बाँड्ने प्रचलन हराउँदै गएको पाइन्छ । दहि चिउरा बाँड्नुको सट्टा पश्चिमा संस्कृतिलाई अँगाल्दै केक काट्ने चलन बढ्न थालेको छ । सुकुन्दामा बत्ति बालेर जन्मदिनलाई शुभ बनाउने नेवा: समुदायले हिजोआज जानीनजानी केकमा मैनबत्ती निभाएर जन्मदिन मनाइरहेको छ ।
बढ्दो आधुनिकतामा पश्चिमा संस्कृतिलाई अँगाल्दा अँगाल्दै आफ्नो नेवा: संस्कृति हराउँदै छायामा परिसकेकोमा स्थानीय चिन्तित छन् । अहिलेसम्मको पुस्तालाई यो संस्कृति बारे जानकारी होला तर के यो पछिको नयाँ पुस्तालाई यो जन्मदिनको संस्कृति प्रक्रिया बारे थाहा होला र ? हामी आफ्नो महत्व भुलेर देखावटी फेसनको रूपमा अरूको संस्कृतिलाई बढावा दिइरहेका छौं । अहिले नै आफ्नो बालबच्चालाई हाम्रो संस्कृतिको महत्व थाहा नदिने हो भने हाम्रो अस्तित्व, सभ्यता माथि प्रश्न चिह्न खडा हुनेमा दुई मत छैन । पश्चिमा संस्कृति अनुशरण गर्दै आफ्नो संस्कृति पनि जोगाउनु हाम्रो दायित्व, कर्तव्य हो ताकि आफ्नो मौलिक संस्कृति विलीन नहोस् ।