काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा दर्जनौँ संख्यामा महिला समूह छन् । नगरपालिका र वडामार्फत बिभिन्न शीर्षकका बजेट लिने र काम गर्ने ध्येयका साथ खुलेका यस्ता महिला समूहले नामभन्दा धेरै बदनाम कमाएका छन् । बिभिन्न पार्टीका कमिटिमा रहेका महिलाहरूको हालिमुहाली रहने कतिपय महिला समूहले नगरपालिकाबाट वर्षेनी लाखोँ बजेट पनि पार्ने गर्छन् । तर ती बजेटका कामका बारेमा भन्ने खासै उल्लेख गर्ने विषय रहने गर्दैन ।
नगरपालिकाले पार्टीका कार्यकर्ता पाल्न रकम दिएझैँ गर्ने अनि सोहि अनुसार गुमनामरूपमै त्यसको चलन- अपचलन हुने परम्परा व्यापक छ । यद्यपि महिलासँग सम्बन्धित विषय भएकाले यो कुरा उठाउने हिम्मत भने हत्तपत्ति कसैले गर्दैनन् । यस्ता विषय उठाउदा हात हाल्न आएको घटनादेखि कालो मोसो दल्छु भनेर कुर्लने महिला एवम् महिला समूह बुढानीलकण्ठमा नामै लिन सकिने गरी भेटिन्छन् ।
यो समाचारको केन्द्रबिन्दु महिला समूह, उनीहरूले नगरपालिकाबाट पाउने अनुदान बजेट एवम् खर्चबर्चकै सेरोफेरोमा छ । बुढानीलकण्ठ नगरपालिका वडा नं १० की जनप्रतिनिधि देवी रेग्मीले आफ्नो सामाजिक सन्जालमा एउटा यही विषयसँग सम्बन्धित स्टाटस लेखेपछि यो समाचारको जन्म भएको हाे । स्टाटसमा उनले केही फोटो पनि राखेकी छिन् ।
वडा नं १० की महिला जनप्रतिनिधि तथा सम्बन्धित पार्टीमा राम्रो पहुँच राख्ने रेग्मीले बुढानिलकण्ठ नगरपालिकालाइ सचेत गराउँदै लेखेकी छिन् “महिला समूहहरूले गर्ने यस्ता कार्यक्रमप्रति नगरपालिकाको विशेष ध्यान दिन जरूरी छ ।” रेग्मीले महिला मैत्री समूह नामको एक संस्था कार्यसमितिको एकजना सदस्य चेन्ज गर्न बन्दिपुर पुगेको विषय गम्भीरताका साथ उठाउँदै सो संस्थाको अध्यक्षप्रति कटाक्ष गरेकी छिन्, “अध्यक्ष पदचाहिँ कहिल्यै चेन्ज हुनु नपर्ने ?”
उद्धव खरेल बुढानीलकण्ठ नगरपालिकाको मेयर हुँदा सल्लाहकार समिति सदस्य रहेकी बिन्दा गौतम अध्यक्ष रहेको सो संस्था नगरपालिकाको बजेटमा चलखेल गर्ने महिला समूह मानिन्छ । जुन समूहमा वडाध्यक्षका आफन्तहरूको हालीमुहाली रहने गरेको बताइन्छ ।
यसैबीच एक अर्काे समाचारअनुसार बुढानीलकण्ठ १० मैं रहेको रहेको अर्को समूह कर्मशील महिला अभियान समूह पनि आफ्नो साधारणसभाका लागि रात बस्ने गरी डाँडागाउँ जान लागेको छ । डेढ़ वर्षदेखि अफिस बन्द गरेर पनि नगरपालिकाको बजेटमा ‘तर’ मारिरहेको आरोप लाग्ने गरेको कर्मशील महिला अभियानले महिला मैत्री समुह रात बस्ने गरी बन्दिपुर गएपछि सोही खाले कार्यक्रम गर्न लागेका बुझिएको छ । पार्टीका महिला नेतृहरूले भरिपूर्ण यो संस्थामा पनि वडाध्यक्षका भाइबुहारीको हालीमुहाली रहने गरेको बुझिएको छ ।
संस्थामा बजेट पार्नेदेखि घुम्न कहाँ जाने तथा कुन रेष्टुरेन्टमा खानेसम्मका विषय वडाध्यक्षका भाइबुहारीको हात रहने आरोपकाबीच कर्मशील महिला अभियान समूहले गरेको कामका बारेमा भने जनता पटक्कै सुसुचित छैनन् । बुनपा वडा नं १० को कार्यालय रहेको कपन साहित्य समाजको भवनमा रहेको सो संस्थाको कार्यालय डेढ वर्षदेखि ताला लागेको छ । सो कार्यालयमा रहेका सिलाइ मसिन लागयतका सामान काम नलाग्ने भएका छन् । तर बजेट ल्याउने जस्ता कर्ममा भने कर्मशील अभियान पछाडि छैन । सोही कारण आउँदो शुक्रबार रात बस्ने गरी सो महिला समूह डाँडा गाउँको रिसोर्टमा जाँदैछ ।
महिला मैत्री समूह होस् वा कर्मशील महिला अभियान होस् वा जे जोसुकै नामका संस्था होस् यी संस्थाले अधिवेशनका नाममा गर्न कृयाकलाप भनेको नेतृत्व परिवर्तन हैन बिरोधी परिवर्तन हुने गरेको छ। यी संस्थाहरुमा संस्थाका हालिमुहालीकर्तामाथि औँला उठाउनेहरूलाइ मात्र परिवर्तन गर्ने गरिन्छ । देवी रेग्मीले भनेजस्तै “महिला समूहहरूले गर्ने यस्ता कार्यक्रममा नगरपालिकाको विशेष ध्यान जान जरूरी छ ।”