काठमाडौँ– चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेका छन् । सन् २०२० मा ५ हजार १४४ जना नेपालीले स्थायी बसोबासका लागि देश छाडेका थिए । सन् २०२१ मा एक हजार ५४१, सन् २०२२ मा ६९ हजार ३५१ र सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन् ।
अध्यागमन विभागका अनुसार चार वर्षमा १ लाख ४६ हजार ९५१ जना नेपाली स्थायी बसोबास गर्न विभिन्न मुलुक गएका छन् । स्थायी बसोबासका लागि अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र युरोपलगायतका धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन् ।
वर्षेनी स्थायी रुपमा देश छोड्नेको संख्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालीहरू किन देश छाड्न आतुर छन् भनेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । राजनीतिक अस्थिरता, राम्रो जीवनशैली तथा बस्ने वातावरण, काम गर्ने वातावरण, सहज रुपमा काम पाउने, राम्रो तलब, स्थायी बसोबासको कार्ड पाउन सहज, परिवार–आफन्त विदेशमा, विदेशमा रहेका साथी र चिनजानहरू कारण रहेकाे प्रतिवेदनमा उल्लेख छ ।
आफ्नो मुलुक छोडेर कोही किन सधैंका लागि विदेश बस्न चाहन्छन् ? यो अहिले सार्वजनिक रुपमा बहसको विषय बन्न थालेको छ । किन मानिस आफू जन्मेको थातथलो त्यागेर परदेश जान चाहन्छन् ? यहाँ बस्न नदिन के कुराले प्रेरित गरिरहेको छ ? सरकार वा यहाँको राजनीतिक प्रणाली खराब छ ?
राज्यले आम नागरिकलाई नेपालमा बसेर समृद्ध जीवन बिताउन सकिने कुरामा विश्वास दिलाउन नसक्दा देश छोड्नेको संख्या बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की बताउँछन् । राज्यले नागरिकलाई सुरक्षित र वृत्ति विकासमा सहयोग पुर्याउन सकिन्छ भन्ने कुरामा आश्वस्त बनाउन नसक्दा स्थायी रुपमा देश छोड्नेको संख्या बढेको हुन सक्ने उनले बताए ।
‘क्षमतावान नागरिकहरू समृद्ध जीवन खोज्दै, उज्वल भविष्य र अवसरको खोजीमा विदेश गएका छन्,’कार्कीले भने,’ स्थायी रुपमा विदेश जानुले नेपालमा मानिसहरू सुरक्षित छैनन् र सामाजिक संरचना अप्ठ्यारो अवस्थामा रहेको बुझ्न सकिन्छ ।‘ मानिसलाई नेपालमा केही हुन्छ भनेर बसाउन सक्नु ठूलो चुनौती रहेको कार्कीले बताए । कानुनी दण्डहीनताले प्रश्रय पाएकाले मानिसमा निराशा छाएको बुझ्न सकिने उनको भनाइ ।
कानुनको नजरमा ठूला मानिसहरू जोगिने र साना मानिसहरू बन्धनमा पर्ने अवस्थाले नैराश्यता छाएको मान्न सकिने उनले बताए । कानुन राज्यमा कानुनले असुरक्षित बनाउँदै लगेको उनको भनाइ छ । ‘सरकारी कामकाज एकदमै सुस्त छ । चिनजान नभएमा सरकारी कार्यालयमा काम हुन गाह्रो छ,’ उनी नेपालको बेथिति औल्याउँदै भन्छन्,’ स्वास्थ्य र शिक्षा राम्रो छैन । आधारभूत कुराहरू मात्र राम्रो भएमा आशा जगाउन सकिन्थ्यो ।‘
कानुनी राजको पालना गराउन सकेमा नागरिकमा आशा जगाउन सकिने उनले धारणा व्यक्त गरे । मुलुक भ्रष्टाचारले व्याप्त रहेकाले पनि नागरिकमा निराशा र मुलुकमा केही हुँदैन भन्ने धारणा विकास भएको उनले बताए । भ्रष्टाचार न्यूनीकरण गर्न सकेमा नागरिकले स्वदेशप्रति आशा जोगाउन सक्ने उनले बताए ।