काठमाडौं, २१ पुस । नेकपा एमालेका बारेमा नेपाली कांग्रेसका दलित नेता प्रकाश रसाइली ‘स्नेही’ ले गम्भीर आरोप लगाएका छन् । उनले नेकपा (एमाले) ले अरु दललाई राष्ट्रघाती बनाएर आफू राष्ट्रवादी बन्न खोजेको टिप्पणी गर्दै भनेका छन्, एमाले दिनभरी भारतलाई गाली गर्छ अनि राति लैनचौर गएर खुट्टा समात्छ ।
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भएका सम्झौतालाई लिएर एमाले र एमालेका नेताहरुले भ्रम फैलाउने काम गरेको उनको भनाइ छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षतकार कार्यक्रममा बोल्दै उनले भारतसँग भएको सम्झौताको विरोध गर्दैगर्दा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दूतावास, परराष्ट्र मन्त्रालय र सरकारका कुनै संरचनाहरुलाई जनकारी नदिई सत्ता जोगाउन राति १२ बजे भएका भेटहरुलाई पनि बिर्सन नहुने बताए ।
उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका बेला १० हजार मेगावाट विद्युत १० वर्षमा खरिद गर्ने गरी भएको सम्झौता नेपाल र नेपाली जनताको हितमा रहेको दाबी गरे । उनले यसलाई महत्वपूणर् कदमको संज्ञासमेत दिए । ‘एस जयशंकर नेपाल आउनु भयो । १० हजार मेगावाट विजुली भारतले १० वर्षमा किन्ने भनेको छ । यो नेपाली जनता र नेपालको विकासका निम्ति एउटा महत्वपूणर् कदम हो,’- उनले भने ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल-भारतको सम्बन्ध तिक्ततापूणर् बनेको दाबी गर्दै उनले पछिल्लो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा र त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि छिमेकीसँग एमालेले बिगारेको सम्बन्धमा सुधार भएको बताए । एमालेले बाहिर आफूलाई राष्ट्रवादी देखान भारतको विरोध गरेपनि एमालेका नेताहरु, उनका छोराछोरीहरु दूतावासको सिफारिसमा कति भारतमा पढिरहेका उनको आरोप छ ।
पछिल्लो पटक एमालेका नेताहरु सत्ता नपाएर विछिप्त बनेको उनको टिप्पणी छ । ‘आलुविना तरकारी नबन्ने र सत्ता विना एमाले बस्नै नसक्ने’ उनको टिप्पणी छ । एमालेले टिआरसी विधेयकलाई बार्गेनिक टुल बनाएको उनको आरोप छ । प्रचण्डसँग दिनकै चार पटक भेटेर ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग खोजेको उनले बताए । एमाले आफैंमा लम्पसारवादी पार्टी भएको उनको आरोप छ । बाहिर भारतको विरोध गर्ने र फेरि मुखमा मास्क लगाएर भारतीय दूतावासमा पुग्ने एमालेको चरित्र रहेको उनको टिप्पाणी छ ।
‘एमाले दिनभरी मिडिया र संसद्मा गाली गर्ने, राति लैनचौरमा गएर खुट्टा समात्ने पार्टी हो । अहिले यहाँ गाली गर्ने, फेरि मुखमा मास्क लगाएर डौडिएर दूतावासमा पुग्ने पार्टी हो,’- उनले भने । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु नेपाल र नेतपाली जनताको हितमा रहेको उनको दाबी छ ।