काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मन्दिर क्षेत्रमा ९० वटा पक्की सटर निर्माण गर्न लागेको छ । १४ करोड लागतमा २२ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोषले गत असोजमा धर्म एस निर्माण सेवा कम्पनीलाई ठेक्का लगाइसकेको छ । ती संरचना भाडामा लगाउने कोषको योजना छ ।
पशुपतिनाथ मन्दिरको पश्चिममा रहेको गौशालातर्फको खाली जग्गामा पक्की संरचना निर्माण गरिन लागेको हो । कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार निर्माण गर्न लागिएका सबै संरचना भाडामा लगाउने प्रयोजनका हुन् । एउटा संरचनाको मासिक २५–३० हजार रुपैयाँ भाडा उठाउने कोषको लक्ष्य छ । ‘अहिले भएका टहरा निकै कम भए, टहरा भाडामा लिन नपाउनेहरूले असन्तुष्टि जनाए, त्यसैले थप संरचना निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘यी सबै संरचना मौलिक किसिमबाट निर्माण हुन्छन्, कोषले नै व्यवस्थित तरिकाले भाडामा लगाउँछ ।’ संरचना निर्माण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मञ्जुरी दिएको स्रोतको दाबी छ ।
नयाँ संरचनामा पूजासामग्री, खानेकुरा तथा लत्ताकपडाका पसल रहनेछन् । कोषले अहिले ३० वटा पुराना टहरा भाडामा लगाउँदै आएको छ । दुई महिनाअघि निर्माण गरिएका ६४ वटा टहरा भने खाली छन् । कसलाई दिने भन्ने विषयमा कुरा नमिल्दा ती टहरा भाडामा लगाइएको छैन । ‘निर्माण भएका ६४ संरचना कसलाई कसरी भाडामा दिने भन्नेबारे सहमति नजुट्दा खाली छन्,’ कोषका प्रवक्ता अधिकारीले भने । ९० वटा पक्की संरचना निर्माण भइसकेपछि कोषसँग भाडामा लगाउने पक्की र कच्ची गरी एक सय ८३ वटा संरचना हुनेछन् । पुराना टहरा मासिक ११ हजार भाडामा लगाइएका छन् ।
कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टन्डनले पशुपतिनाथ क्षेत्रमा टहरा बनाएर व्यापारीकरण गर्नु अपराधसरह भएको बताए । ‘मानिसलाई उठीवास लगाएर पशुपतिनाथको जग्गा प्राप्त गरिएको थियो, अब फेरि त्यही जग्गामा संरचना बनाउनु राम्रो होइन, अझ व्यापारिक प्रयोजनका लागि संरचना बनाउनु अपराधसरह हो,’ उनले भने, ‘पशुपतिनाथलाई पैसा नै कम भएर भाडामा लगाउनुपर्ने त होइन । जसलाई जे मन लाग्छ त्यही गर्न पाइँदैन ।’ उनले ९० वटा संरचना निर्माण गर्दा यसले पशुपतिनाथको स्वरूप बिगार्ने बताए ।