काठमाडौं । जग्गा हडपेको आरोप लागेको कपनको पुलहारी गुम्बाबाट निस्किएको ढलले स्थानीयमा दुर्गन्ध फैलिएको छ । बुढानीलकण्ठ नगरपालिकाको वडा नं ११ मा हरेको सो गुम्बाबाट वर्षौंदेखि निस्किएको फोहोर पानी र ढलका कारण स्थानीयमा समस्या थपिएको हो ।
सो दुर्गन्धका कारण स्थानीयवासी र नियमित मर्निङवाकमा निस्कनेहरु समेत समस्यामा परेको भन्दै स्थानीयवासी र क्लबले समेत पटकपटक वडामा लिखित र मौखिक गुनासो समेत गर्दा पनि न त गुम्बाले यसबारे ढल व्यवस्थापनमा चासो दिएको छ न त वडाले नै समस्या समाधानमा पहल गरेको स्थानीयको गुनासो छ । यो दुर्गन्धले स्थानीयमा गम्भीर स्वास्थ्य समस्या पर्नेतिर पनि स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
ढल व्यवस्थापन गरेर सहजै यो समस्या समाधान गर्न सक्ने अवस्था भए पनि वडा र गुम्बाले चासो नदिँदा समस्या परेको स्थानीयको गुनासो छ । यसको बारेमा यसअघि यज्ञडोल जगडोल युवा क्लबले वडालाई पत्राचार पनि गरेको थियो ।
जग्गा हडपेको विषयमा समेत नगरपालिका मौन
उता गुम्बाले सरकारी जग्गा हडपेको आरोपमा पनि वडाले अहिलेसम्म कुनै चासो दिएको छैन । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानीलकण्ठ नगरपालिकालाई पत्र काटेर चासो राखे पनि नगरपालिका र वडा यसमा मौन रहेको हो । यसविषयमा काठमाडौंखबरले पनि यसअघि नै समाचार प्रकाशित गरेको थियो ।
अख्तियारमा परेको उजुरीअनुसार सो गुम्बाले ४० रोपनी सरकारी जग्गा हडपेको आरोप लागेको छ । अख्तियारले बुढानीलकण्ठ नगरपालिकालाई लेखेको पत्रमा सो गुम्बाले हालसाबिक गर्दा ४० रोपनी सरकारी जमिन हडपेको विषयमा उजुरी परेकोले सो गुम्बाको नाममा रहेको जमिन यकिन गर्न भनेको छ । अख्तियारले गत कार्तिक १५ गते काटेको पत्र अनुसार बुढानीलकण्ठ नगरपालिकालाई रायप्रतिक्रिया प्रकट गर्न भनेको छ ।
अख्तियारको पत्र आएपछि नगरपालिकाले नगरपालिकाको प्राविधिक शाखा प्रमुख सुनिल महर्जनलाई राय सल्लाह सुझावका लागि पत्र लेखेको छ । नगरपालिकाले मंसिर १४ गते महाशाखा प्रमुख सुनिल महर्जनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको पनि बताएको छ ।