भक्तपुरको टौमढी टोलमा अवस्थित न्यातापोल मन्दिर इ.सं १७०८ (ने.सं ८२८) मा कलाप्रेमी राजा भूपतिन्द्र मल्लले निर्माण गर्न लगाएका हुन्। काठमाडाै उपत्यकामा भएका छाने शैलीका मन्दिरहरुमध्ये यो मन्दिर पनि एक हो । यो मन्दिर ‘सिद्धिलक्ष्मी’ भनिने तान्त्रिक देवीको मन्दिर हो र यीनलाई ‘भैरवी’ पनि भनिन्छ तर मन्दिरभित्र देवी अदृष्यरुपमा रहेको मान्यता छ । लोकोक्तिअनुसार यस मन्दिर नजिकै रहेको भैरव मन्दिरको भैरवले धेरै दुःख दिएका हुनाले भैरवले समेत मान्नु पर्ने सिद्धिलक्ष्मीको यो मन्दिर बनाइएको हो ।
पाँचतल्ले जगमाथि निर्माण गरिएको यस भवनको जग बनाउनका लागि राजा भूपतिन्द्र मल्लले तीनवटा इँटा आफै बोकेर ल्याएको हुनाले यस कामबाट प्रभावित भएर प्रजाहरु समेतले यस मन्दिरको निर्माणमा जीउधनले सहयोग गरेकोकुरा वंशावलीमा उल्लेखित छ । यस देवलको जम्मा उचाइ ३५ फिट छ भने तलदेखि माथिसम्म ७० फिट अग्लो छ । जग वा पेटीहरु क्रमशः साँघुरिंदै गएका छन्। प्रस्तरको सिंढीको दायाँबायाँ प्रत्येक पेटीमा बेग्लावेग्लै रक्षकहरुको जोडा मूर्तिहरु स्थापना गरेको छ । क्रमशः पहिलो पेटीका खुड्किलामा जयमल र पता नामका दुइ पहलमानहरु, दोश्रोमा दुई हात्तीहरु, तेस्रोमा दुई बाघहरु, चौथोमा दुई व्यालहरु र अन्तिम पेटीमा सिंहिंनी र व्याघ्रिनीको मूर्ति रक्षकका रुपमा राखिएको छ ।
यी रक्षकहरु क्रमशः तल्लो तहभन्दा १० गुणा बढी शक्ति भएको जनधारणा प्रचलित छ । वर्गाकार गर्भगृहमा चारै दिशामा चार प्रवेशद्वारहरु रहेका छन् तर मुख्य प्रवेशद्वार भने दक्षिणपट्टिको प्रवेशद्वार हुन्। गर्भगृहका चारै दिशामा रहेका ढोकाहरुका अघिल्तिर स्तम्भहरुमा आधारित प्रदक्षिणापथको निर्माण गरिएको र चारैतिर कालो रंगबाट रंगाइएका तर ठाउँठाउँमा सेतो रंगको प्रयोग गरिएका स्तम्भहरु रहेका छन् । गर्भगृहको चारैतिर फुलबुट्टा कुँदिएका चेप्टो आकारका काठेपटी प्रयोग गरिएको छ । चारैतिर कालीगढीयुक्त कोरनिस बनाइएको छ । चारैतिरका ढोकामाथिको तोरणहरुमा अठार हातयुक्त महिषासुरमर्दिनीका मूर्ति कुँदिएका छन्। तोरणको चारैतिर नागको समेत चित्र र कतैकतै कुनामा मकराकृति पनि देखिन्छ । प्रत्येक तल्लामा छाना अड्याउन टुँडालको प्रयोग गरिएको छ ।
प्रत्येक छानाका चार कुनामा पाटनको मच्छिन्द्रनाथ मन्दिरमा भएजस्तै शार्दूल र व्याल आकृतिका काँठ टुँडालहरु रहेका छन्। यस मन्दिरका प्रत्येक तल्लाहरु समानुपातिक रुपमा तलतिरदेखि मास्तिरसम्म साँघुरिंदै गएका छन्भने मन्दिरका छानाहरु पनि आमलक बनाएर त्यसमाथि गजुर र गजुरमाथि छत्र बनाइएको छ । घण्टा आकारमा बनाइएको यो गजुरमा सुनको मोलम्बा लगाइएको छ । पर्सी ब्राउनकानुसार “आभूषणहरुको श्रृंगारले युक्त भएको यो अत्यन्त आकर्षक देवल हो। यस्तो देवल मुश्किलले मात्र अर्को ठाउँमा देख्न सकिन्छ ।”