काठमाडौं खबर पुस २२, २०८०
काठमाडौं । विज्ञापनमा राखिएको एउटा बुँदालाई लिएर सर्वत्र विरोध भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ । पूर्वपदाधिकारीले मात्रै उपकुलपतिका लागि आवेदन दिन पाउनेगरी यसअघि गरिएको सूचना तीन दिन पनि नपुग्दै रद्द गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सो प्रतिबन्ध खारेज गर्न निर्देशन दिएपछि नयाँ सूचना जारी गर्दै उपकुलपतिको लागि गरिएको सूचना रद्द भएको बताइएको छ ।
पदाधिकारीबाट उपकुलपति नियुक्त गरी फेरि भागबन्डा गर्न थालियो भन्दै विरोध भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका थिए । त्यसपछि समितिले शनिबार निर्णय गरेर यसअघिको सूचना रद्द गरेको जानकारी दिएको हो ।