भक्तपुरका विभिन्न नृत्यहरुमध्ये ‘खःप्याखँ’ पनि एक हो। मल्लकालमा काठमाडौं उपत्यकामा नाचहरूका साथै विभिन्न कथालाई समेटिएका नृत्यनाटिकाहरू पनि प्रस्तुत गरेको पाइन्छ । यसप्रकार काठमाडौं उपत्यकामा धेरै पारम्परिक नृत्यनाटिका छन्। मल्लकालमा प्रताप मल्ल लगायत अन्य राजाहरु आफै नाच्ने र नाटक खेल्ने गर्थे । पहिला रामकथा, कृष्णचरित, बुद्धको जीवनी प्रज्ञापारमितामा आधारित नृत्य र नृत्यनाटिका हालसम्म प्रचलित छन् । खःप्याखंँ पनि त्यसैको एउटा उपहार हो जसले आज पनि भक्तपुरको कला संस्कृति जोगाउन र सुन्दरता प्रदान गर्न सफल छ ।
खः प्याखँ १२ वर्षको एकचोटी मात्र देखाइन्छ भनी समय तोके तापनि यसको खास समयावधि तोकेको छैन । कलाकारहरुको मनसुवा र औगातले भ्याएमा प्रत्येक वर्ष नाटक मञ्चन गर्न सकिन्छ । पूरै हिन्दी र मैथिली भाषाको संवाद भएको यस नाटकमा थुप्रै कथा समेटिए तापनि हाल प्राप्त भएका केही कथाहरुमध्ये कनकसुन्दरी र सुवणर्केतुको कथा पनि अहिले प्राप्त कथा हो । जुन कथा निम्नानुसार छ ।
राजा सिंहदेवका एक छोरा र तीन छोरीहरु हुन्छन् । राजकुमारीहरु यौवन अवस्थामा पुगिसकेका हुन्छन् । तैपनि राजाले छोरीहरुको यो अवस्थालाई ध्यान दिन सकिरहेको हुँदैन । राजकुमारीहरु यौवनले उन्मुक्त भएर बालबगैंचामा अर्धनग्न भएर डुल्दै ख्यालठटामा मस्त रहेका हुन्छन् । राजकुमारीहरुको त्यस्तो बानीव्यहोरा देखेर एकदिन मन्त्रीले राजालाई राजकुमारीहरुको यो अवस्थाबारे बताउँछ र बिहेको बन्दोबस्त गर्न सल्लाह दिन्छ । आफ्ना छोरीहरुले लाजशरम त्यागी त्यस प्रकारको अनैतिक आचरण देखाएकोमा राजा सिंहदेव रीसले चूर हुन्छ र आफ्ना मन्त्रीलाई तुरुन्तै आदेश दिन्छ “भोली बिहान सबेरै दरबारको मूल ढोका खोल्दा जो जो भेटिन्छन् तिनीहरुलाई राजकुमारीहरु दिएर पठाउनु ।”
भोलिपल्ट बिहानै मूलढोकामै एकजना राक्षस बसिराखेको हुन्छ । आदेशअनुसार राजा सिंहदेवकी जेठी छोरी सुवणर्केशरीलाई त्यस राक्षससँग बिहे गराइदिन्छ । बाटोमा त्यस राक्षसले आफू इन्द्रको सरापले राक्षस भएको र राजकुमार सिंहकेतुको शुभ विवाहपछि मात्र आफू सरापबाट मुक्ति हुने कुरा विलाप गर्दै पछि लागेका राजकुमारीलाई सबै कुरा भन्छ । एवम् रीतले विभिन्न कारणले बाघ र गरुड हुन पुगेका व्यक्तिहरुसँंग माइली राजकुमारी पद्मकेशरी र कान्छी राजकुमारी रत्न केशरीको बिहे हुन्छ । ती दुवैले पनि राजकुमार सिंहकेतुको विवाहपछि मात्र सरापबाट मुक्ति हुने कुरा बताउँछ । एकदिन इन्द्रकी छोरी कनकसुन्दरी एक हजार हात्तीहरुको पहरामा मानसरोवरमा स्नान गरिरहेकी हुन्छिन् । त्यो दृष्य देखेर राजकुमार सुवणर्केतुले एउटा रुखको हाँगाको आडमा लुकेर हेरिराखेको हुन्छ ।
त्यो कुरा कनकसुन्दरीले पछि चाल पाउँछ र दुवैजना प्रणयसूत्रमा बाँडिन्छन् । भोलिपल्ट पनि दुवैको संगम त्यही हुन्छन्। आफ्नो सुरक्षार्थ पहरा दिइरहेका हात्तीहरुलाई आँखा चिम्लेर रहन आदेश दिन्छिन् । यही मौका पारेर राजकुमारी कनकसुन्दरी राजकुमार सुवणर्केतुसँग भाग्छे । केहीबेरपछि हात्तीहरुले आफू छकिएको चाल पाउँछन् र राजकुमारीलाई खोज्दै पछ्याउँछन् । हात्तीहरुको लखेटाइबाट बच्न राजकुमारले आफ्ना भिनाजु राक्षस र बाघको सहायता लिन्छ । तैपनि उनीहरुले हात्तीहरुबाट मुक्ति पाउँदैनन् । पछि गरुडको सहायता माग्छ । गरुडले दुबैलाई बोक्छ र धेरै टाढा पुर्याइदिन्छ ।
राजकुमारीलाई लिएर राजकुमार आफ्नो देशको बाटो लाग्दै गर्छन तर बीच बाटोमा नागकेतु दैत्यले राजकुमारीलाई अपहरण गर्न खोज्छ । राजकुमारलाई सहयोग गर्न आएका बाघ र राक्षसलाई समेत आफ्नो वंशमा पार्छ । अन्त्यमा राजकुमारले गरुडको सहयोग माग्छ र नागकेतु दैत्य गरुडसँग पराजित हुन्छ । राजकुमार र राजकुमारी आफ्नो देशमा जान्छन् र धुमधामसंँग बिहे हुन्छ ।