काठमाडौं खबर पुस २०, २०८०
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वाग्मती आरतीको भिडियो खिच्ने विषयमा आएको सूचनामा अनभिज्ञ रहेको जनाएको छ । उसले आफ्नो लोगो दुरुपयोग भएङ्को भन्दै आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ । पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियोमाथि कपीराइट लाग्ने सूचनामा संलग्नता नरहेको कोषको भनाइ छ ।
पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले एक सूचना निकाल्दै पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपीराइट ऐन अन्तर्गत कारबाही हुने जनाइएको थियो । कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको हस्ताक्षर रहेको विज्ञप्तिमा उक्त सूचना प्रकाशित भएकोमा कोषको कुनै पनि संलग्नता नरहेको पुनको भनाइ छ ।