![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
एमाले गण्डकीले करिब १० करोडमा पोखरा–८ सिमलचौरमा रहेको मानबहादुर गुरुङको १० आना क्षेत्रफलमा बनेको पाँच तले घर किनेको छ । पोखरा–८ सिर्जनाचोकमा मूल सडकले भेट्ने यो भवन ४० हात मोहडा र त्यत्ति नै हात पिछाडि छ।
एमाले गण्डकी अध्यक्ष नवराज शर्माले पार्टीलाई सुविधा सम्पन्न भवन आवश्यक परेकाले सो भवन खरिद गरेको बताए। उनले भने, ‘पहिले १० करोड रुपैयाँ भनेपछि नकिन्ने मूडमा थियौं तर घरवालाले ९ करोड ६५ लाखमा दिन्छु भनेपछि खरिद गरेका हौं।’
अध्यक्ष शर्माका अनुसार जग्गाको बैना गरिसकिएको छ। चार महिनाको भाका राखेर गत मंसिर ४ गते बैना गरिएको उनको भनाई छ। ‘बैना बापत २५ लाख रुपैयाँ दिएका छौं,’उनले भने। मन्दीको बेला सर्वहारा पार्टीले करोडौंको घर खरिद गर्नुको कारणबारे प्रष्ट्याउँदै उनले भने,‘लाखौं कार्यकर्ता र करोडौं जनताको समर्थन रहेको पार्टीले सुविधा सम्पन्न भवन बनाउने कुरा सामान्य हो।’
‘देश पार्टीले चलाउने अनि जनता सार्वभौम बनाउने हो,’ उनले थपे, ‘यस्तो ठूलो पार्टी सँधै झुप्राझाप्रामा बस्नुपर्छ भन्ने छैन।’ आफ्नो भवन नहुँदा पार्टीले हैरानी खेप्नुपरेकाले पनि सुविधा सम्पन्न भवन खोलेको उनको प्रष्टिकरण छ।
एमाले गण्डकीसँग पैसा भएर भवन किन्न लागेको भने नभई बरु उसले कार्यकर्ता र पार्टीका शुभचिन्तक र व्यवसायीसँग सहयोग मागेर भवन किन्न लागेको उनले बताए। उनका अनुसार बैना बापतको २५ लाख नियमित लेबी र एमालेबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्यबाट नियमित रुपैमा प्राप्त रकम हो।
‘हामीसँग पैसा भएर घर किन्न लागेको होईनौं,’ अध्यक्ष शर्माले भने,‘कार्यकर्ता र शुभचिन्तक तथा हामी निकट व्यवसायीसँग सहयोग मागेर तिर्ने योजना अन्तर्गत खरिद गरेका हौं।’ उनका अनुसार गण्डकीमा एमालेका ६ हजार ३ सय सदस्य छन्।
उनीहरुबाट एक/एक हजार रुपैयाँ उठाउने तयारी गरेको शर्माले बताए। ‘तिनीहरु मध्ये पनि सक्नेसँग ५–१० हजार रुपैयाँ माग्छौं। अझ मनकारी र हामी निकट व्यवसायीलाई २०–२५ हजारसम्म दिनुस् भनेर आग्रह गर्छौ?’ उनले भने।
सर्वहारा पार्टीले भवन खरिद गर्ने योजना र त्यसको भार कार्यकर्तालाई थोपर्ने भनेपछि एमाले भित्रबाटै विरोधका स्वरहरु गुन्जिएका छन्। एमाले कार्यकर्ता कमल सुवेदीले केही अघि सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै यस्तो व्यङ्ग्य गरेका छन्, ‘एमाले गण्डकीले ६० हजार कार्यकर्ताबाट पैसा उठाएर पार्टी कार्यालय खोल्नुभन्दा एउटा उद्योग खोल, कार्यकर्तालाई रोजगारी देऊ, विनाश काले विपरीत बुद्धि।’
सो स्ट्याटसमा कमेन्ट लेख्दै हालसालै एमाले छाडेका कृष्ण आचार्यले लेखेका छन्, ‘यस्ता सुझाव कसले सुन्ने हो खै? कम्युनिष्ट भन्नु त नाम मात्रैको हो। एमाले पार्टी बुर्जुवा भइसक्यो।’ अर्का कार्यकर्ता सूर्यप्रसाद सुवेदीले थपेका छन्, ‘अँ रोजगारी देऊ। त्यसबापत बरु म महिनैपिच्छे यति प्रतिशत भनेर माग, म दिन तयार छु। पहिला भात खाएर बाँच्नु पर्यो।’
अर्का कार्यकर्ता एलपी सुवेदीले कमेन्टमा लेखेका छन्, ‘उद्योग त मारवाडीले खोलिराछन्, खोल्छन्! अरुले खोलेर किन जोखिम लिने ? बिना लगानी र जोखिम आवश्यकता पूर्ति हुने भएपछि।’