काठमाडौं खबर पुस १५, २०८०
काठमाडौं । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा मनाइने यो पर्वलाई तोला ल्होसार पनि भनिन्छ । यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
ल्होसार शब्द (ल्होंसार) मिलेर बनेको शब्द हो । गुरुङ्ग भाषामा ल्होको अर्थ वर्ग र सारको अर्थ नयाँहो । त्यसैले ल्होसार भनेको नयाँ वर्ष हो अर्थात एक साल समाप्त भएर अर्को नयाँ सालको आगमन हुनु हो। तिब्बती वर्मेली उत्पतिका मुल जातिगत मान्यताहरुमा ल्होसार १२ भागमा बाडिएको हुन्छ । जुन १२ वटा जीवजन्तुहरुको नाममा नामकरण गरिएको हुन्छ । १२ जीवजन्तुमध्ये प्रत्येक वर्षका लागि एक–एक वटा तोकिएको हुन्छ । १२ वर्षको चक्र पूरा गरेपछि त्यही ‘ल्हो’ पुनः दोहोरिएर आउँछ । त्यसलाई ल्हो बहोर (वर्ग चक्र) भनिन्छ ।
गुरुङ्गहरुले आफ्ना जीवनयापनका लागी प्रकृतिसँगको सघर्षमा यहाँको हावापानी, खोलानाला, वनजंगल, पहाड र माटो अनुरुप, सामाजिक सांस्कृतिक जीवनशैली, भाषा, धर्म संस्कृति रितिरिवाज, भेषभुषा र चाडपर्वको रुपमा अभिव्यक्त हुन्छन्। जसलाई सस्कृति भनिन्छ । जसले जातिको पहिचान दिन्छ । जातिको पहिचान दिने तत्वहरु मध्ये एउटा सांस्कृतिक चाड ल्होसार नै हो । नेपालको मंगोल मुलका जनजातिहरुमा सबैभन्दा ठुलो सांस्कृतिक चाड नै ल्होसार हो ।
यसले गुरुङ्ग लगायतका ल्होसार मान्ने समुदायहरुका माझ सम्बद्धता तथा आफ्ना सदस्यहरुलाई सामाजिकीकरण मात्र गरेको होइन्, यसले प्रकृतिमा हुने नियमित परिवर्तनलाई बुझाउने र त्यस अनुकुल मानव गतिविधिलाई निर्देशित गरिरहेछ । यो पुरानो पुस्ताबाट नयाँ पुस्तामा आ–आफ्नो सामाजिक, मुल्य मान्यता र सास्कृतिक सम्पदायलाई हस्तान्तरण गर्ने ठुलो र प्रभावकारी माध्यम बन्दै आएको छ । नेपालमा धेरै समुदायका लागि ल्होसार बास्तवमा साझा चाड हो ।