काठमाडौं । नेपालमा सतिप्रथाको अन्त्य भएको १०४ वर्ष पूरा भएको छ । २५ असार १९७७ मा अर्थात आजभन्दा १०४ वर्ष अघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले गरेका हुन्। यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ।
त्यसो त जङ्गबहादुर राणाले १६ वर्षभन्दा मुनिका विधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सति जानमा रोक लगाएका थिए । तर उनकै मृत्यु हुँदा उनका केही रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन् ।
पछि वि.सं. १९४४ असार १४ गते श्री ३ महाराज वीरशमशेर जबराले देशका विभिन्न स्थानमा तैनाथ गढी–गौँडाका हाकिमहरूलाई सती पठाउनपूर्व अनिवार्यतः स्वीकृति लिनैपर्ने, पठाइँदा नारीको स्वीकृति चाहिने, छोराछोरी हुर्केका हुनुपर्ने, गर्भवती हुन नहुने लगायतका कडा नियम तर्जुमा गरी कार्यान्वयन गर्न लिखित निर्देशन दिएका थिए । तर उनको पालामा पूर्णत: सतिप्रथा अन्त्य भने भइसकेको थिएन ।
उता चन्द्र शमशेरलाई सतिप्रथा मात्रै नभएर दासप्रथाको समेत उन्मूलनको जस दिने गरिन्छ । दासप्रथा उन्मुलन गर्दा सदर टुँडिखेलमा खरीको बोटबाट चन्द्रशमशेरले दिएको भाषण अहिलेसम्मकै पहिलो लामो भाषण मानिन्छ । ८० पृष्ठको लिखित भाषण चन्द्रशमशेर आफैँले पढेर पूरा गर्न सकेका थिएनन्। अन्तिम अंश नायब बडागुरुज्यू हेमराज पाण्डेले पढेर सुनाएका थिए।
त्यसैगरी पशुपतिको दक्षिणाबाट दासहरूको ऋणमोचन गरिएको थियो। गुठीको सम्पत्ति प्रयोग गरी पहिलोपटक सामाजिक कार्य भयो । पुण्य गर्ने उद्देश्यले दान गरेको रकम पुण्यकार्यमा नै लगाइएको पहिलोपटक हो ।