

काठमाडौ । आज वैशाख शुक्लपञ्चमी। हिन्दू धर्मका दुई जगतगुरुको जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वैदिक सनातन धर्मको पुनर्स्थापना एवं प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिने आदिगुरु शंकराचार्य र रामानुजाचार्यको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाउन लागिएको हो।
वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरूकुलमा आद्य शङ्कराचार्यले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरी मनाइँदै छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरू र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो ।
त्यस्तै, रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक थिए । उनी श्रीवैष्णव थिए । उनको भक्ति परम्परामा धेरै प्रभाव रहेको छ । वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नै रामानन्द भएका हुन् जसका शिष्य सन्त कबीर र सूरदास थिए । तद्अतिरिक्त कुलशेखर आलवार रामानुजका एक महत्त्वपूर्ण शिष्य थिए । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेखेका थिए ।
सन् १०१७ मा दक्षिण भारतको तमिलनाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरूकुदुरू भन्ने गाउँमा उनको जन्म भएको थियो । उनी विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्मअन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए । त्यसबेला जैन धर्म र बौद्ध धर्मको प्रचारका कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा थियो । रामानुजले त्यसको सफलतापूर्वक प्रतिकार गरे ।