काठमाडौँ । बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ दल नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भीरतापूर्वक लिएकोसमेत जनाएको छ। सो घटनाको छानबिन गर्नु पर्ने कांग्रेसको माग रहेको छ।
‘कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ञनेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ ।’
घटनाको सत्य-तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेसले माग गरेको छ ।
साथै हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूणर्, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपीलसमेत गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् ।
कोरिया पीडित युवाहरूले गरेको प्रदर्शनको क्रममा भौतिक योजना मन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि बालकुमारी, ललितपुरमा प्रदर्शन भड्किएको थियो। स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागी २ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।