काठमाडौं । गत साउन महिनामा पत्रकार कुट्दा पनि माफी पाएका बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीका स्वकीय सचिव (पीए) रवीन्द्र अधिकारीले नगरपालिकामा नै कर्मचारीमाथि कुटपिट गरेका छन् । सोमबार नगरपालिकाको प्राङ्गणभित्रै अधिकारीले कार्यालय सहायक किशोर बरुवालमाथि कुटपिट गरेका हुन् ।
चन्द्रागिरि नगरपालिकाको स्विट्जरल्याण्ड पार्कमा नगरपालिकाका कर्मचारीद्वारा आयोजित वनभोज कार्यक्रम सकेर फर्किएका बरूवालमाथि बसको ड्राइभरलाई गीत बजाउन लगाउने विषयमा विवाद भएपछि कुटपिटमा उत्रिएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन् । ती कर्मचारीका अनुसार फर्किने क्रममा बसमा पूर्व नगरप्रमुख उद्धवप्रसाद खरेलको पालामा रेकर्ड गरिएको नगर गीत बझाउनका लागि बरुवालले बसका चालकलाई अनुरोध गरेका थिए । तर बरूवालको प्रस्तावमा अधिकारीले असहमति जनाएका थिए । आफ्नो जग्गामा बाटो लैजान सार्वजनिक जग्गा प्रयोग गरेर भ्रष्टाचार गरेको, उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमामा परेको विषयमा भिन्नखाले टीकाटिपणी भएको व्यक्तिको पालाको गीत नबजाउन अधिकारीले चेतावनी दिएका थिए ।
तर बसबाट ओर्लिनेबित्तिकै अधिकारीले बरूवालमाथि कुटपिट सुरु गरेको ती कर्मचारीले जनाएका छन् । यो कुटपिटको विरोधमा कर्मचारीहरूले विरोधका कार्यक्रम सार्वजनिक गर्न लागेका छन् । सीसीटीभी फुटेज मेयर मीठाराम अधिकारीलाई बुझाएर रवीन्द्रविरुद्ध कदम चाल्न आग्रह गर्ने कर्मचारीहरूको तयारी छ ।