काठमाडौँ । अग्रज सर्जक तथा लेखक तिलकप्रसाद लुईटेलको निधन भएको छ । मृगौला सम्बन्धि रोगबाट ग्रसित लुईटेलको मंगलबार बिहान ७ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। शुक्रबारदेखि श्वासप्रश्वास समस्या देखिएपछि उहाँलाई आईसीयुमा राखिएको थियो। सोमबार स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो।
लामो समयदेखि बुढानीलकण्ठ १० मा बसोबास गर्दै आएका लुईटेलले चार वेदलगायत अनेकौं संस्कृत ग्रन्थहरूको अनुवाद गरेका छन् । उनको उपचार गर्न आर्थिक अभाव भएका कारण सहयोग पुर्याइदिन एक अपीलसमेत सार्वजनिक गरिएको थियो।
२०१९ साल वैशाख १ गते जन्मनु भएका लुइटेलको ६१ वर्षको उमेरमा निधन भएको हो । ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्तलगायत संस्कृत भाषाका कृति नेपालीमा अनुवाद गरेका छन् । उनले अनुवाद गरेका चार वेद नेपाली भाषा र साहित्य क्षेत्रका चर्चित कृति हुन्।