काठमाडौं खबर पुस १०, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके आफूसहित कुनै मन्त्रीलाई पद ओगटेर बस्ने सुविधा नभएको बताएका छन् ।उनले कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई बिदा गर्ने संकेत गर्दै सम्बोधनका क्रममा भने, “म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छूट छैन।
कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ-आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन।”