काठमाडौं खबर पुस १०, २०८०
आज मंसिर शुक्ल पूर्णिमाका दिन देशभरका विभिन्न समुदायले आ-आफ्ना विशेष पर्वहरू मनाउने गर्छन् । पूर्वका किराँतदेखि पश्चिमका खसहरूसम्मले यस दिन विशेष रूपमा मनाउने गर्छन् । यस दिन मनाइने करिब दर्जन बढी पर्वहरूको सूची निम्नानुसार छ ।
पूर्णिमा व्रत
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पूजाको फल निकै धेरै पाइन्छ
कुलपूजा / देवाली
कुल भनेको वंश हो। कुलपूजा भनेको कुलको परम्परा वा शास्त्रीय विधिअनुसार पितृ, ख्यातिप्राप्त पुर्खा, कुलका संरक्षक देवता तथा स्थानीय देवीदेवताको निश्चित तिथिमा गरिने पूजा हो। शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनीजस्ता शब्द प्रयोग गरेको पाइन्छ। यस क्रममा शुक्ल यजुर्वेदको वाजसनेय शाखामा ‘ॐ कुलायिनी घृतवती पुरन्धिः’ भनेर कुलायिनी शब्द प्रयोग गरिएको छ। यस्तै अथर्ववेदमा पनि कुललाई संकेत गर्ने ‘कुलायं कृणवादिति…’ कुलायेऽधि कुलायं’ आदि मन्त्र उल्लेख छन्। वैदिक सनातन धर्मावलम्बी आर्यहरूले आ–आफ्ना कुलका देवीदेवताको पूजा तथा होम गर्दा परापूर्वकालदेखि नै सोही मन्त्रको प्रयोग गर्दै आएका छन्। तसर्थ सोही समयदेखि कुल देवताको पूजा र होमहोमादि गर्ने परम्परा सुरु भएको हो । मंसिर पूर्णिमाको दिन धेरै जातजातिले यस दिन कुलपूजा एवम् देवाली मनाउने गरिन्छ ।
भँयर पूजा
जहाँ मगरहरुको बसोबास हुन्छ त्यहाँ भँयर थान हुन्छ ,अनि भँयर पूजा गरिन्छ । प्रत्येक सालको चैत शुक्लपुर्णिामाका दिन मगरहरुले भँयर पूजा गरिन्छ ।मगरहरु प्राकृतिक पुजाक जाति हुन। मगर हरु प्राकृतिक शाक्तिमा बिश्वास राख्छ्न । अब नयाँ खेतीपाती लगाउने बेला भयो भनेर, प्रत्येक साल चैत महिनाको शुक्लपूर्णिमा दिन सुँगुरको बाली दिई भँयर देउटा लाई खुशी पार्न गरिने पूजा नै भँयर पूजा हो । अन्न बाली राम्रो होस, समयमै पानी परोस ,सबैको रक्षा क्षेमा गरोस भनी भँयर देउटा लाई बालि चढाउने पूजा नै भँयर पूजा हो । भँयर पूजा गरे पछि पानी पर्ने जन बिश्वास छ ।
मष्ट पूजा
मष्टो देवता कुलपूजालाई देवाली भन्दछन् । मष्टो दुई थरका छन् दुधे मष्टलाई बलि हुँदैन भने अन्य मष्टलाई बलि गरिन्छ। दुधेमष्ट बाहेक अन्य मष्टको कुलपूजामा बोकाको वलि चडाइन्छ । कुलधामीले बोका काटेपछि त्यसको रगत पिउदै उफ्रदै नाँच्दै धामीले मण्डव परिक्रमा गर्दै गरेको दृष्य कुलधामीले बोकाको भोग (रगत) खान्दछन् । बोकालाई काटेर बोका तथा भेडालाई अंगालोमा राखेर आलो पालो रगत पिउदै मुल धामी मण्डल परिक्रमा गर्छन् । सेतो वस्त्रको पहिरन लगाएका १२ भाइ मष्टाका धामीहरू हातमा चौरी गाईको पुच्छर (चम्मर), घण्ट, धजा समाती भाइ मष्टाका नामहरु उच्चारण गर्दै बाजाको तालमा आँगनमा खेल लगाउँदै नाँच्ने गर्दछन् । मस्टलाई नेपालका मौलिक देउता मान्ने गरिन्छ ।
दत्तात्रेय जयन्ती
भगवान् विष्णुको अवतार दत्तात्रेय भगवानको आज जन्म जयन्ती। तीन शिर र छ हातहरू भएका दत्तात्रेय भगवानलाई विष्णु भगवानको अंशको रूपमा मानिन्छ। आज उनको जन्म जयन्तीको दिन दत्तात्रेय भगवानको बाल रूपको पूजा अर्चना गरिन्छ । भगवान् दत्तात्रेयबाट वेद र तन्त्र मार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्मित भएको थियो। सत्य युगमा गुरु र शिष्यमाझ हुने उपदेश आदान प्रदानको परम्परा क्षीण हुँदै गएको र श्रुतिहरू लोप हुन लागेको अवस्थामा विलक्षण स्मरण शक्तिका माध्यमबाट यस परम्परालाई पुनर्स्थापना गर्न एवं वैदिक धर्मलाई पुनर्जीवित तुल्याउन भगवान् विष्णुले दत्तात्रेयका रूपमा अवतार लिनुभएको धार्मिक मान्यता रहिआएको छ।
उधौली
प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।
यःमरि पुन्हि
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।
यसका अलावा यही दिन झाँक्री पूजा, नाग पूजा, धान्य पूर्णिमा, चासोक तङ्नाम, ज्यापू दिवस जस्ता पर्व तथा दिवसहरू समेत मनाउने गरिन्छ ।