काठमाडौं उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा युरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरु गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरू अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरु स्पष्ट रुपमा थाहा हुन सकेको छैन ।
सरसरर्ती हेर्दा अरु जातिहरुभन्दा नेवार जातिहरुको विशेषता फरक देखिन्छ । जस्तो, तामाङ्ग, गुरुङ्ग, मगर, लिम्बूहरु सबै नश्लमा आधारित गति हुन् । तामाङ्गहरु सबैको एउटै रगत छ, राईहरु सबैको एकै रगत छ र त्यस्तै अरु अरुको पनि एकै नश्ल वा रगतका हुन् । त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरु पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भएता पनि उनीहरु सबै आर्य रगतका हुन् । तर नेवारहरुमा त्यस्तो छैन । कोही नेवारहरु आर्यन्, कोही नेवारहरु मङ्गोल र कोही अष्टाद्रविड नश्लका छन् । संसारका तीनवटा नश्लहरु नेवारहरुमा छन् ।
नेवारको श्रमिक वर्ग, जस्तो (नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरु, ज्यापूहरु सबै तिब्बेतो वर्मन वा मंगोल मूलका छन् । नेवारहरुमा यिनीहरुको संख्या ९० प्रतिशतभन्दा बढी छ । नेवार जातिभित्रका केही अरु परिवारहरुको उदाहरण लिऔँ । जस्तो कि, नेवारहरुमा श्रेष्ठहरु छन् । श्रेष्ठहरुमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन् । ७ सय वर्षसम्म मल्लहरुको राज्य चल्दा उनीहरुले सरकारको ठूलाठूला पदहरु अथवा भारदारहरुमा विभिन्न मानिसहरुलाई नियुक्ति गरे ।
नेवार समुदायअन्तर्गत रहेका थरहरु मध्य नकर्मी पनि एक हुन । नकर्मी शब्द नक:मी शब्दबाट अप्रभंस भएर बनेको शब्द हो । नक:मि शब्द नेपाल भाषाका दुई शब्दहरु “न” र “क:मि” बाट बनेको हो । “न” भन्नाले फलम हो भने “क:मि” भन्नाले शिल्पी (पोख्त ब्यक्ती) भन्ने अर्थ लाग्दछ । अर्थात फलामका सामानहरु बनाउन पोख्त ब्यक्तिहरुलाई नै नक:मि भनिन्छ । जसरी काठको काममा पोख्त ब्यक्तिहरुलाई सिंक:मि (सिल्पकार) भनिन्छ, ढुङ्गाको सामान बनाउन पोख्त ब्यक्तिहरुलाई ल्वहंक:मि (शिलाकार) भनिन्छ, रोटी बनाउन पोख्त ब्यक्तिहरुलाई मारिक:मि (मधिकर्मी) भनिन्छ ।
त्यसरी नै फलामको काममा पोख्त ब्यक्तिहरुलाई न:कमि (नकर्मी) भनिन्छ । नेपाल भाषामा नकर्मीलाई “कौ” भन्ने गरिन्छ । यी नकर्मीहरु पनि नेपाल मण्डलका आदिवासी हुन । जब देखि नेपाल मण्डलमा कृषि गर्न थालियो तबबाट यी थरका ब्यक्तिहरुले फलामको काम गर्न सुरु गरेको थियो । नेपालको बिकासमा उल्लेख्य भूमिका रहेको यस थरका मानिसहरुको संख्या न्यून रहेको छ ।