नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारी धर्म निरपेक्षता र प्रदेश संरचनाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेता हुन्। उनले आफ्नो दलका सबैजसो मुख्य नेताहरू सहभागी कार्यक्रममा मङ्गलवार अनौठो अभिव्यक्ति दिएका छन्: “मैले पाएको सूचना यदि गलत छैन भने आगामी चैतभित्र संविधान खारेज हुन सक्छ।“
उनले त्यस्तो अभिव्यक्ति दिएको कांग्रेसको गण्डकी प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूसहित ठूला नेता सहभागी थिए। त्यो सूचना सुनाउनुअघि नेता भण्डारीले अप्रिय स्थिति आउने जोखिम औँल्याएका थिए।
“तपाईँहरू धेरैलाई थाहा होला, म भन्दै छु- साथीहरू नोट गरेर राख्नुहोस् , आगामी चैत महिनाभित्र जे पनि हुन सक्छ मुलुकमा,” नेता भण्डारीको भनाइ थियो। पछिल्ला दिनहरूमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना लगायतका माग गर्दै बेलाबखत प्रदर्शनहरू हुने गरेका छन्। हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भनेर माग गर्नेहरूको आकार र प्रभावभन्दा बढी नै चर्चा हुने गरेको कतिपय आलोचकहरू ठान्छन्।
“व्यवस्थामाथि सम्भावित खतरा“ आउन सक्ने प्रमुख दलका मुख्य नेताद्वारा व्यक्त आशङ्काले त्यो थप चर्चामा रहेको बुझाइ पाइन्छ। यही बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि फागुनदेखि आन्दोलन गर्ने घोषणा गरेको छ। प्रमुख तीन दलसहित कतिपय अन्य साना पार्टीहरू पनि गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताप्रति प्रतिबद्धताबाट पछि हटेका छैनन्।