नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रुख चिह्नविरुद्ध लाग्नेलाई पार्टीबाट सँधैका लागि बिदा गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पार्टीमा पद र अवसर लिनेहरुले चुनावमा अन्तर्घात गर्ने गरेको बताउँदै उनले भने, ‘तर नेता र नेतृत्वले गल्ती गर्दा चौतारीमा बसेर आलोचना गर्नेहरू अहिले रिसाएका छन्। उनीहरु ती व्यक्तिहरू हुन् जो चुनावमा रुखबाहेकमा भोट हाल्दैनन्।’
त्यसैले अब कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने बताउँदै उनले अगाडि थपे, ‘त्यसैले ती ईमान्दार २२ लाख कार्यकर्तालाई भन्नैपर्छ हामी हारे हारौंला, सिंहदरबार वा धुलो जे हुन्छ त्यसमा बसौंला। अब आइन्दा कुनैपनि चुनावमा कांग्रेसजनको आस्थामा कुनै असर पर्न दिन्नौं। रुख भन्दा अरु कुनैपनि ठाउँमा भोट हाल्नु पर्दैन भनौं।’
अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई बचाउन नयाँ कांग्रेस तर पुरानो भावनाको कांग्रेस बनाउनुपर्ने बताए। उनले आगामी फागुन ७ गते तोकिएको महासमिति बैठक अब कुनैपनि हालमा नसर्ने दाबी गरे। ‘अहिले समस्या पर्यो र सरेको हो। तर फागुन ७ गते तोकिएको महासमिति बैठक कुनैपनि हालतमा सर्दैन’-उनले भने।
महामन्त्री शर्माले कांग्रेस नभई कांग्रेसजन बिग्रिएको टिप्पणी गरे। ‘कांग्रेसमा केही गडबडी छैन, उनले भने, ‘बिग्रेको छत कांग्रेजन बिग्रेका छन्।’ उनले एउटा चुनाव सकिए लगत्तै अर्को चुनावको मिसन सुरु हुनु विडम्बनापूणर् भएको टिप्पणी गरे। ‘चुनावको होइन, देशको चिन्ता गरौं, उनले भने, ‘हरेक चुनावपछि अर्को चुनावको चिन्ता नगरौं। बरु अहिले काम गरौं, मिसन ८४ अभियान अहिल्यै चलाउनु आवश्यक छैन।’
वरिष्ठ नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सभापति चुनिएपछि गरेका कामको फेहरिस्त मागे। तपाईंले अहिलेसम्म के के काम गर्नुभयो ? उनले प्रश्न गरे, ‘तपाईंले गरेका कामको रिपोर्ट कार्ड पेश गर्नुस्।’ उनले नेतृत्वमा व्यक्तिवादी चरित्र रहेको भन्दै त्यो सुधार्न आग्रह गरे।
पूर्व महामन्त्री शशाङ्क कोइरालाले अहिलेको संविधानबाट धर्म निरपेक्ष व्यवस्था हटाउनुपर्ने बताए। धर्म निरपेक्षताको अर्थ धर्म नमान्ने हुने भन्दै उनले भने, ‘धर्मनिरपेक्ष भन्ने शब्दले नेगेटिभ अर्थ दिन्छ। त्यसैले यसलाई संविधानबाट हटाउनुपर्छ।’
उनले नेताहरुको बुद्धि नहुँदा देशको विकास नभएको टिप्पणी गरे। ‘त्यसैले त अहिले युवा शक्ति बिदेसिएका छन्। उनीहरुलाई रोक्नुपर्छ त म भन्दिन तर यहीँ बस्ने वातावरण भने बनाउनुपर्छ’ उनले भने।