काठमाडौं । ६ महिनाजति अघि बुढानीलकण्ठ नगरपालिकाभित्र धोविखोलामाडोजर तथा स्काइभेटर चलाएको विषय र त्यसका बारेमा समाचार एवम् चर्चा परिचर्चा धेरैले बिर्सिएका छैनन । बर्खा आउन लाग्दा यसरी खोलामा डोजर चलाएर माटो हल्लाएको भन्दै धेरैले बिरोध पनि गरेका थिए । केही दिन नगरपालिकाको ब्यानर लगाएको निजी डोजर तथा स्काइभेटरहरू धोवीखोलामा तलमाथि गरिरहेको सबैले देखे । कतिले त्यो कर्मलाइ वाहवाही गरेर सामाजिक सन्जालमा फोटो भिडियो पोस्ट गरे भने केही खोला डोजर हाल्न नहुने भनेर आलोचना गरे । त्यसैक्रममा बुढानीलकण्ठ नगरपालिकाका एक वडाध्यक्षले आफ्नो सामाजिक सन्जालमा यसरी खोलामा डोजर चलाउनुलाई ’सन्ततिका लागि सम्पदा’ भन्दै लामै समय जगहँसाइ पनि गरे ।
केहि दिन डोजर चल्यो । केही दिन चलेजस्तो मात्र गर्यो । बुढानीलकण्ठ नगरपालिकाबाट दामपैसाका खाम लिने केही पत्रकारहरूले देवत्वकरणमा समाचार, आलेख र अन्तर्वार्ताहरू पनि लेख्न भ्याए । यद्यपि खाम खल्तीमा हाल्ने पत्रकारदेखि धेरैले यो काम तथा यसको बजेटका बारेमा पत्तो पाएनन् वा वास्ता गरेनन् ।
काठमाडौँ खबरले यो बारे एउटा समाचार लेखेको थियो । त्यो समाचार नगरपालिकाबाट हण्डी खाएका पत्रकार भन्ने शब्दावलीप्रति केही पत्रकारले नाराजगी पनि व्यक्त गरेका थिए । तर खोलामा डोजर हाल्ने काम, त्यसको बजेट र अन्य बिरोधाभाषबीचको कतिपय विषय अझै अन्यौल नै छ ।
विकास निर्माणका विषयमा कहाँबाट बजेट आयो ? कति बजेट आयो ? कहाँ-कहाँ खर्च भयो ? भन्ने कुराको खोजतलास बुढानीलकण्ठ नगरपालिकातिर खासै हुने गर्दैन । खाने खाई रहन्छन्, हेर्ने हेरिरहन्छन् । ताली बजाइरहन्छन् । गाली गर्ने वा सचेतना बाँड्नेहरुको निकै कमी छ ।
गत साउन २२ गते एकाएक रूद्रमती सरसफाई कार्यक्रम सम्पन्न भएको समाचार आएको थियो । मेयर मिठाराम अधिकारी प्रमुख अतिथि भएर समापन भएको कार्यक्रममा नगरपालिकाकै पैसामा जिविकोपार्जन गरिरहेका पत्रकार र मिडियाहरूलाईसमेत सम्मान गरिएको थियो । धोविखोला सफाइ सम्पन्न भएको भनेर राखिएको कार्यक्रममा ६० लाख खर्च भएको घोषणासहित सो ६० लाखमध्ये ४१ लाख ४ हजार डिभिजन बन कार्यालय अनि १६ लाख ३० हजार ७७० बुढानिलकण्ठ नगरपालिका र २ लाख ७० हजार रुद्रमती हरियाली उपभोक्ता समिति मार्फत खर्च भएको उल्लेख गरियो ।
यो खर्चका विषयमा बुढानीलकण्ठ नगरपालिकाकै एक वडाध्यक्षले गम्भीर आवाज़ उठाएका थिए । बुढानीलकण्ठ वडा नं १३ का वडाध्यक्ष टिकानारायण श्रेष्ठले सरसफाइको कामदेखि हिसाबकिताब तथा पारदर्शितासम्मलाई घोच्ने गरी प्रश्न उठाएपछि सबैजना छाँगाबाट खसेजस्तै भए । नगरपालिका तथा एकाध वडाध्यक्षलाइ हिम्मत गरेर प्रश्न गर्दै वडा नं १३ का वडाध्यक्षले टिकानारायणले आफ्नो सामाजिक सन्जालमा यसरी लेखेका थिए, ’धोबीखोला सरसफाइको क्रममा खोला सफाइ गर्न छुट्टाएको रकम २९ लाख ७० हजार मध्येको रकममा ठेकेदारलाई १५ लाखले ठेक्का दिँदा बचेको रकम १४ लाखको हिसाब किताब के हुन्छ ? पार्दर्शी ढंगबाट हिसाब किताब देखाइयोस् उपभोक्ता समिती का जिम्मेवार साथीहरुबाट । वडा नं १३ को यो माग रहेको जानकारी गराउँछु ।’
वडाध्यक्ष टिकेशनारायण(टिकानारायण श्रेष्ठ)ले उपभोक्ता समितिका जिम्मेवार साथीहरुबाट भन्ने वाक्यले वडा नं १० का वडाध्यक्ष नवराज भट्टराइलाई इङ्गित थियो। किनकी सो उपभोक्ता समितिका जिम्मेवार साथी भनेको अध्यक्ष भट्टराई नै हुन् । यसरी आफ्नै सहकर्मीले प्रश्न उठाएसँगै धोवीखोला डोजर हालेर लाखौँ झ्वाम् पारेको विषय छर्लङ्गिएको थियो ।
यो विषयले उठ्दै थियो त्यसैबेल बालेनको डोजर धोविखोला सिमानाबाट कपनतिर खोला खोल्न तेर्सियो । बालेनको डोजर र वडाध्यक्ष नवराज भट्टराइका लामै किस्साहरू भए । धोविखोलाको विषय एकाएक कपनका चखुन्चा र यज्ञमतीतिर रूपान्तरण भए । काठमाडौँ खबरमा पनि चखुन्चा, बालेन र स्थानीय जनप्रतिनिधिका थुप्रै समाचार लेखिए । फलतः धोविखोला सफाइका नाममा भएको भष्ट्राचारको त्यो विषय सेलायो । मानिसहरूले यो विषय नै बिर्सिए । भनिन्छ, वडाध्यक्ष टीकानारायण श्रेष्ठले उठाएको १४ लाखको विषय मेयर मिठाराम अधिकारीले पनि बैठकहरूमा उठाएका थिए ।