सतीदेवीको दाहिने तिघ्रा पतन भई उत्पत्ति भएको शक्ति पिठ हो, मनमैजु । मनोरथ तीर्थको किनारमा अवस्थित यस मनमैंजु अजिमा रूपि इन्द्रायणी पिठलाई पौराणिक कथामा विभिन्न रूपले उल्लेख गरिएको छ । वंशावलीमा लेखिएअनुसार राजा गुणकामदेवको पालामा यस मन्दिरको स्थापना गरिएको थियो ।
यहाँ नेपाल सम्वत् १०३५ भन्दा पुरानो शिलापत्र भेटिएको छ भने राणा प्रधानमन्त्री चन्द्रशमशेर र तत्कालीन राजा महेन्द्रले यस मन्दिरको जीर्णोद्धार गरिएको देखिन्छ । पित्तलको छाना र आकर्षक मन्दिर रहेको यस मन्दिरमा रहेका टुँडाल र तोरणमा यौनकलाका आकृति पनि देख्न सकिन्छ ।
नेपाल संवत् ७८६ मा प्रताप मल्लले यस मन्दिरको स्थापना गराएको देखिन्छ । सो कुरा मन्दिरको बाहिरी मूल ढोकाको उत्तरपट्टि पूर्व फर्काएर राखिएको शिलालेखमा उल्लेख छ । वि.सं. २०३१ सालमा सञ्चार मन्त्रालयबाट प्रकाशित मेचीदेखि महाकाली नामक पुस्तकको दोस्रो भागमा मनमैजु मन्दिरको स्थापना वि.सं. १७४८ मा भएको कुरा उल्लेख छ ।
मन्दिरमा भएको अर्काे शिलालेखमा राजा गिर्वाणयुद्ध वीरविक्रम शाहदेवले आफ्नी जेठी महारानीको नाममा यस मन्दिरको नित्य पूजालाई भनी वि.सं. १८५८ मा गुठी स्थापना गरिएको देखिन्छ । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट मन्दिरको जीर्णाेद्वारका लागि केही रकम उपलब्ध गराएको पाइन्छ ।
इतिहासअनुसार राजा गुणकामदेवले कान्तिपुर देशको स्थापनासँगै मनमैँजु मन्दिर, लुमडी, पचली भैरव ङ्यमरु अजिमा आदिको मन्दिर बनाएको भन्ने वंशावलीमा लेखिएको छ भन्ने जानकारहरु बताउँछन् ।
मनमैजु देवीको उत्पत्ति सम्बन्धमा किंवदन्ती
किंवदन्ती कथा अनुसार, परापूर्व कालमा काठमाडौंको जितपुर गाउँमा मन नाम गरेकी एक कुरुप रुपकी कन्या थिइन् । तिनी निरन्तर रूपमा विष्णुमती र केशुमती(साङ्गला) खोलाको दोभानमा बसी इन्द्रको तपस्या गर्दी रहिछन् । एक दिन सधैं झै मन नाम गरेकी ती कन्या दोभानमा स्नान गरी इन्द्रदेवको आरधना गर्ने क्रममा कन्याको आरधनाबाट प्रसन्न हुनुभई इन्द्र आफैं त्यस स्थानमा उपस्थित भएछन् र ती कन्यालाई वर माग्न भनेछन् ।
ती कन्याले पनि इन्द्रलाई नै पतिका रूपमा पाउनुपर्ने वर मागिछन् । इन्द्रले उक्त कुरा स्वीकार गरी ती कन्यासँग विवाह गरेछन् । तर तिनको अनुहारमा कालो पातो र दागहरू रहेकाले त्यस्ती नराम्री कन्या स्वर्गमा सुहाउँदिनन् भनी तिनलाई त्यहीँ छाडेर इन्द्र स्वर्गतिर फर्किएछन् ।
उनलाई इन्द्रले नै मनमैजु नामले बस्नू अनि अनुहारमा दाग र पोतो हुने मानिसलाई सुन्दर बनाउनू भन्ने वरदान दिएछन् । यसै आधारमा मनमैजुलाई अनुहार सुन्दर बनाउने देवीका रूपमा पूजाआजा गर्ने गरिएको हो भन्ने जनविश्वास छ । त्यस्तै, अर्को किंवदन्तीअनुसार पहिला मनमैजु, टोखा र गोङगबुँ क्षेत्र घना जङगली क्षेत्र भएको ।
एक दिन एक शिकारी मृगको सिकार गर्ने ताकमा मृगको पछ्याउँदै आउँदा , हतास मृग मनोरथ तिर्थमा पुगेर प्राण त्यागेछ । मृगले मर्नु अगाडि मैले व्यर्थमा मृत्युवरण गर्नुपर्यो , अर्को जुनीमा मैले व्याधासँग बदला लिन पाउँ भनी भगवान संग याचना गरेछ । पवित्रमा बसेर अन्तिम क्षेणमा गरेको प्राथना स्वरुप नभन्दै त्यो मृग अर्को जुनीमा बाघ र व्याधा चाहिँ बँदेलको रुपमा जन्मन पुगेछन्। एकदिन अचानक ती दुबैको भेट त्यही मनोहर तीर्थमा भएछ ।
दुबै जनाको जमकाभेट पछि बदेँल र बाघको घमासान लडाइँ गर्दागर्दै नै दुवैले त्यही तीर्थमै मृत्युवरण गरेछन् र स्वर्गमा पुगेछन्। ती दुवै लड्दा लड्दा दुवैले मृत्युवरण गरेर स्वर्गमा आएको देखेर देवेन्द्र आश्चर्य मान्दै के कस्तो पुण्यको प्रभावबाट तिमीहरू स्वर्गमा आयौं भन्दै सोधपुछ गर्दा दुवैले मनोरथ तीर्थको प्रभाव भएको बताएको देखेर इन्द्रलाई पनि मत्र्यमण्डलको त्यो मनोहर तीर्थ हेर्न लालायित भएर तीर्थ हेर्न जान्छु भनी इन्द्र मनोहर तीर्थ आएछन्।
संयोगवश इन्द्रले तीर्थबाट स्नान गरी निस्किएकी मनमैँजुलाई देखेछन्। मनमैंजु शारीरिक सौन्दर्यले कुरुप र नराम्री देखिए तापनि शारीरिक बनावट भने राम्रो थियो । सधैं स्वर्गको अप्सराहरुको रासलीलामा रहने इन्द्रलाई सुन्दरताले कुरुप भए पनि मनमैंजुको शारीरिक बनावटमा मोहित भई उनीसँग एकरात सुखःभोग गरी बिताएछन्।
भोलिपल्ट इन्द्र स्वर्गलोक फर्किन लाग्दा मनमैँजुले नजान बिन्ति गरिन्। म तिमीलाई यो जुनीमा इन्द्रलोक लान सक्दिनँ तर अर्को जुनीमा भने तिमी मेरी इन्द्रायणी बन्नेछ्यौ’ भनी मनमैंजुलाई केही वर तथा उपहार दिएर इन्द्र त्यहाँबाट इन्द्रपुरी प्रस्थान गरे भन्ने अर्को किंवदन्ती रहेको छ ।