काठमाडौं खबर मंसिर २९, २०८०
काठमाडौं। पार्टी सभापति शेरबहादुर देउवा महासमिति बैठक सार्ने तयारीमा लागेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने राजनीतिक र सांगठनिक प्रस्तावलाई अन्तिम रुप दिनतिर जुटेका छन्।
थापा र शर्माले बिहिबार साँझ काठमाडौंको एउटा रेष्टुरेन्टमा दुवै प्रस्तावमाथि छलफल गरेका छन्। महासमिति बैठक तोकिएको मितिमा हुने निश्चित नभएपनि राजनीतिक र सांगठनिक प्रस्तावलाई सकेसम्म चाँडो अन्तिम रुप दिने उनीहरुको तयारी छ।
थापालाई सांगठनिक र शर्मालाई राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने जिम्मेवारी छ। महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा बस्ने तय छ। तर तयारी नपुगेको र चिसोको कारण देखाएर देउवाले बैठक सार्न चाहेका छन्। उनले यसै विषयमा छलफलका लागि शुक्रबार अपराह्न १२ः१५ मा केन्द्रीय कार्यसमितिको बैठक राखेका छन्।