काठमाडौं । साँखुलाई स्कन्द पुराणले ‘लावण्य देश’ पनि भनेको छ । साँखुको निर्माण विदुषी बज्रयोगिनीले गरेको विश्वास छ । जुन कुरा नेवारी मनिशैल महावदान (बज्रयोगिनीको उत्पत्तिको इतिहास)मा उल्लेख भएको प्रकाशमान बताउँछन् ।
मनिशैल महावदानमा भनिएको छ, ‘शंखरापुर बन्नुभन्दा अलिमाथि बज्रयोगिनी विदुषी बस्ने ठाउँमा एक मानसपुत्र जन्मिए । बज्रयोगिनीले राजालाई दिने सबै कुरा दिँदै आइन् र राज्य समृद्ध र मजबुत बनाउने काम पनि भयो ।’ त्यही समयमा बनेको राजकुलो अहिलेसम्म पनि छ । पृथ्वीनारायण शाहको समयमा कुलो हेर्नेलाई पनेरू भनिन्थ्यो । साँखुमा अहिले पनि कुलो हेर्ने कुलैया छन् । पानी पहिले हरेक घरको सामुन्ने पुग्थ्यो । भूकम्पपछि भने धेरै ठाउँमा कुलो बिग्रियो ।
साँखुमा आठको संयोग पनि गज्जबको छ । संस्कृतिविद् प्रकाशमानका अनुसार यहाँ आठवटा टोल, आठवटा बाटो, आठवटा कुलो, आठवटा डबली, आठवटा विहार, अष्टभैरव र अष्टविनायक छन् । प्रकाशमान भन्छन्, ‘बज्रयोगिनीका आठ बहिनी थिए । उनीहरूलाई चारैतिर राखेकाले सबै आठ बनाइएको विश्वास छ ।’ यसरी बज्रयोगिनीले सबै बन्दोबस्त गरेपछि देशको नाम शंखरापुर र राजाको नाम शंखदेव राखिएको मनिशैलमा लेखिएको छ ।
शंखदेव एक भाइ मात्र थिए । उनका एक मात्र छोरा मानदेव भिक्षु बने । उनी बज्रयोगिनीमै गएर लीन भएको विश्वास गरिन्छ । त्यसपछि राजगद्दी खाली भयो । अहिले पनि साँखुवासी प्रधान चुन्छन् । माधवनारायण भगवान्लाई जसले बोक्छ, उही प्रधान चुनिन्छ । राजाको प्रतिनिधि भएर बस्छ । साँखुमा माधवनारायणको नाममा ७ माघबाट मेला चल्दै छ । माधवनारायणलाई पानीमा डुबाएपछि व्रत सुरु हुन्छ । एक महिनासम्म माधवनारायण शाली नदीमा बस्ने विश्वासका साथी त्यहीँ राख्ने परम्परा छ ।