![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
भक्तपुर । बालाचतुर्दशीका दिन आज बिहानै भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि ज्योर्तिलिङगेश्वर महादेव मन्दिरसम्म शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्गकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएकाले भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा एक हजारभन्दा बढी भक्तजनले हिजो साँझदेखि रातभरी जाग्राम बसेर आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप, तथा महादीप बालेर आज बिहानै शतबीज छरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपोडोल निवासी बागमती प्रदेशसभा सदस्य किरण थापाले विगत पाँचवर्षदेखि यहाँका बासिन्दाले डोलेश्वर महादेव मन्दिरमै महादीप बालेर जाग्राम बस्ने र शतबीज छर्ने गरेको बताए ।
केहीवर्ष अगाडिसम्म पशुपति जाने गरेका यहाँका बासिन्दाले डालेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्ग स्थापना भएपछि डोलेश्वर महादेव मन्दिरको मूल दीपबाट दीप प्रज्वलन गरी दीप, महादीप बालेर रातभरी जाग्राम बस्ने र बिहानै स्नान गरी यहीँको १०८ शिवलिङ्ग र महादेव मन्दिर परिसरमा शतबीज छरेर बालाचर्तुदशी पर्व मनाउने गरेकाले मन्दिर व्यवस्थापन समितिले सहजीकरण गर्दै आएको उनले जानकारी दिए ।
मन्दिर व्यवस्थापन समितिका पूर्व पदाधिकारी थापाले भने, “यहाँका बासिन्दाले डोलेश्वर महादेव मन्दिरमै आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप महादीप बालेर आज बिहान शतबीज छर्दै बालाचर्तुदशी मनाएका छन्, रातभरि जाग्राम बस्नेलाई मन्दिरको चौघेरा सत्तलमा व्यवस्थापन गरेका छौँ, सुरक्षाको व्यवस्था गरेका छौँ, यहाँका बासिन्दालाई अहिले पशुपतिको घुइँचोमा जानुपर्दैन, आफ्नै गाउँमा सजिलैसँग पर्व मनाउन थालेका छन् ।”
त्यसैगरी सूर्यविनायककै सिपाडोलस्थित आशापुरी महादेव मन्दिर, वडा नं ७ गुण्डुको अनन्तलिङ्ेश्वर महादेव मन्दिर, वडा नं १ सिरुटारको चरखण्डीश्वर महादेव मन्दिर, सोमलिङेश्वर महादेव मन्दिर र गुप्तेश्वर महादेव मन्दिरमा त्यहाँका बासिन्दाले रातभरी जाग्राम बसेर दीप तथा महाद्धीप बालेर आज बिहान शतबीज छर्दै बालाचतुदर्शी पर्व मनाएका छन् । मन्दिरसँगैको नदीमा दीप विसर्जन गर्ने र शतबीज छर्ने व्यबस्था भएपछि सहज भएको हो ।
मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारस्थित सङ्गमेश्वर महादेव मन्दिरमा पनि महादिप बालेर रातभचर जाग्राम बसेका छन् । त्यस्तै चाँगुनारायण नगरपालिकास्थित ज्योर्तिलिङगेश्वर महादेव मन्दिरमा पनि यहाँका बासिन्दाले दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभर जाग्राम बसेर आज बिहान शतबीज गरेका छन् । विगतमा पशुपतिमा जार्दै आएका यहाँका बासिन्दाले मन्दिरमै १०८ शिवलिङ्गसमेत बनाएपछि बालाचतुर्दशी यहीँ मनाउन थालिएकोे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका पूर्व प्रमुख नवराज गेलालले जानकारी दिए ।