काठमाडौं । बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन महाद्वीप बाल्न र शतबीज छर्न पशुपतिमा बसेका छन्। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आज रातिदेखि हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण व्यवस्था मिलाएको बताएको छ । ।
आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आज रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था समेत कोषले मिलाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइएको छ । चिसो नहोस् भनेर पालको व्यवस्था गरिएको छ ।
यसैगरी मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सभावनालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ ।