काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा पर्ने पुलहारी गुम्बाले सरकारी जग्गा हडपेको आरोप लागेको छ । यस सम्बन्धमा अख्तियारले बुढानीलकण्ठ नगरपालिकालाई पत्र काटेपछि यसबारेमा खुलासा भएको हो । पुलहारी गुम्बा बुढानीलकण्ठ नगरपालिका वडा नं ११ कपनको जगडोलमा रहेको छ ।
अख्तियारमा परेको उजुरीअनुसार सो गुम्बाले ४० रोपनी सरकारी जग्गा हडपेको आरोप लागेको छ । अख्तियारले बुढानीलकण्ठ नगरपालिकालाई लेखेको पत्रमा सो गुम्बाले हालसाबिक गर्दा ४० राेपनी सरकारी जमिन हडपेको विषयमा उजुरी परेकोले सो गुम्बाको नाममा रहेको जमिन यकिन गर्न भनेकाे छ । अख्तियारले गत कार्तिक १५ गते काटेको पत्र अनुसार बुढानीलकण्ठ नगरपालिकालाई रायप्रतिक्रिया प्रकट गर्न भनेको छ ।
अख्तियारको पत्र आएपछि नगरपालिकाले नगरपालिकाको प्राविधिक शाखा प्रमुख सुनिल महर्जनलाई राय सल्लाह सुझावका लागि पत्र लेखेकाे छ । नगरपालिकाले मंसिर १४ गते महाशाखा प्रमुख सुनिल महर्जनकाे संयाेजकत्वमा ५ सदस्यीय समिति गठन गरेकाे पनि बताएकाे छ ।